भ्यालेन्टाइन डे मनाउन दाउ छोपेर बसेका तात्तो न छारोका कीर्ते प्रेमी प्रेमिकाहरुको लबस्तरो यो भ्यालेन्टाइन डे पर्व नजिकिदै गर्दा मलाई पनि तिम्रो झल्कनाले सम्झिन मन लागेर यो पत्र कोर्दैछु । भ्यालेन्टाइन डे अर्थात् नेपाली भाषामा प्रेम दिवस भनेर केहि बर्ष अघिमात्र नेपालमा आयात गरिएको यो पर्वको रौनकले मलाई कत्ति पनि छोएको छैन । न त मनाउन पाईएन भन्ने चिन्ताले नै म ग्रस्त भएको छु । तिम्ले हाम्ले काखमा खेलाएको हुर्काएको हुर्कौला छोराछोरी नै हलक्क बढेर अंगालोमा नअटाउने अवस्था ग्रहण गरिसकेको परिवेशमा तिमीलाई रसविहिन ठान्दै रसिली खोजेर आफ्नै घरको छानो उधार्ने धृष्टता म कहाँ गर्न सक्छु र ?
तिमीलाई कहिलेकाहिँ त मैले लेख्ने गरेको फेसबुकको स्टाटस र कमेन्टहरु हेर्दा शंका पनि पैदा हुँदो हो । तर त्यहाँ लेखिएको वास्तविकता भन्दा म धेरै टाढाको धरातलमा उभिएर बाँचिरहेको छु भनेर तिमीलाई मैले सफाया दिनै पर्ने हुन्छ । मलाई यो उमेरमा तरुनी उमेरका महिला नस्लसंग रौसिएर हिँड्ने कुनै रहर छैन । त्यहि भएर फेसबुकको लहैलहैमा लागेर मैले पनि मेरो घरको छानो उधार्नुहुँदैन ।
मलाई झल्झली सम्झना छ मेरी गृहलक्ष्मी , मेरै कोठामा बस्ने एक जना भाईले बनाएको महिला फेसबुक फ्रेण्डको वालमा टाँसिएको फोटोमा गएर नाईस् पिक्चर, लुकिङ क्युट भनेर लेखेको मात्र के थियो नेपालमा हुने तिनै महिलाको श्रीमान्ले फोन मार्फत झपार्दै पैसा कमाउन विदेश गएको होस् कि फेसबुकमा नाठो बटुल्न गएको होस् भनेर बेस्सरी भनावैरी चलेछ । यो घटनाको राज पनि मेरै कोठामा बस्ने भाईको निन्याउरो मुख २, ४ दिनबाट देख्दै आएपछि सोधनीपुछनी गर्दा प्राप्त समाचार तिमीलाई मैले फेसबुक मार्फत सेयर गर्दैछु । त्यहि भएर तिमीले यो घर बिगार्ने फेसबुक चलाउन आफ्ना छोराछोरीलाई निरुत्साहित पार्नुपर्ने हुन्छ । यसको साथसाथै हाम्रै गाउँघरका वल्लाघरे पल्लाघरेको घरमा कुकुर नपाले पनि कुकुर देखि सावधान भनेर घरको गेटमा बोर्ड झुण्ड्याउने छिमेकीहरुलाई त्यो बोर्डको सट्टा फेसबुक देखि सावधान भनेर लेखेर चेतना फैलाउन सुझाउनु ।
सामाजिक सञ्जालको रुपमा विकास गरिएको फेसबुकलाई प्रेम सञ्जाल बढाउने र अर्थहीन भ्यालेन्टाइन डे मनाउने क्रमलाई निरुत्साहित पार्न अब हामी सवै एकजुट हुनुपर्ने भएको छ । उमेर नपुग्दै बैंस डाक्ने यो फेसबुक हाम्रो नेपाली समाजमा अलि अपच हुने कुरा तिमीलाई जानकार गराउँदै यसले घर र छरछिमेकमा त्यस्तो दुर्घटना नघटोस् भन्ने मेरो धारणा हो । हुन त भ्यालेन्टाइन डे भन्ने पर्व बर्षमा एक दिन मात्र मनाईन्छ । तर म बसेको देशमा त हरेक हप्तामा भ्यालेन्टाइन डे मनाउने गर्दा रहेछन् । शुक्रवारे छुट्टीमा साथीभाईसंग भेटघाट गर्ने क्रममा धेरै कमी आएको छ आजकल यता । सवैले आआफ्नो जोडी बनाएका हुँदा रहेछन् र आफ्नो मन परेकी प्रेमिकाको माग अनुरुप सपिङ मल र सुपर मार्केटमा गएर इच्छाएको सामान किनीदिएर मेची पठाउने पैसा महाकाली तिर कुलेलम ठोक्दो रहेछ ।
त्यहि भएर प्रिया , हामी सख्खरखण्ड, पिँडालु , तरुल उसिनेर खाने माघीपर्व बरु धुमधामले मनाऔँ, १५ पुषलाई जोडतोडको साथ मनाऔँ , जनैपुर्णे , तीजतिहार र ईदलाई हर्षोल्लासको साथ मनाऔँ तर यो भ्यालेन्टाइन डे भन्ने म्लेच्छ पर्वलाई त्यति महत्व नदिन हामी सवैले सवैलाई सजग गराउँ । यति लामो चिठी लेखिसकेपछि तिमीले पनि पक्कै बुझ्यौ हौली । बस्तुभाउको रेखदेख भन्दा हुर्किएको छोराछोरीको धेरै रखवारी गर्नु । अहिले म पनि अलि व्यस्त भएको हुनाले बाँकी कुरा भ्यालेन्टाइन डे सकिने बित्तिकै तिमीलाई लेख्नेछु ।