महानगर हिउँझै चिसो छ । चिसा छन् मनहरू । भावना र विचारहरू चिसा छन् । चिसा छन् चुल्हाहरू । चिसा छन् जीवनहरू पनि । धेरै दिनदेखि चिसोले कठ्याङ्गि्रएर आहतआहत बाँचिरहेको छु म ।
महानगर आगोझैँ तातो छ । ताता छन् मस्तिष्कहरू । चेतना र चिन्तनहरू ताता छन् । सुख्खा छन् आँतहरू । रापिला छन् मुहारहरू पनि । धेरै दिनदेखि तापले रापिएर सन्तप्त-सन्तप्त बाँचिरहेको छु म ।
महानगर मायानगर हो । यो अत्यन्त सुन्दर पनि छ, औधि कुरूप पनि छ । असाध्यै सुसंस्कृत पनि छ, अचाक्ली विकृत पनि छ । विनाशको शृङ्खला छ, सिर्जनाको संस्कार पनि छ । असभ्यताको तुच्छता छ, सभ्यताको उच्चता पनि छ । अवैधताको निकृष्टता छ, वैधताको उत्कृष्टता पनि छ । घोर आध्यात्मिकता छ, अघोर भौतिकता पनि छ । शिष्ट नैतिकता छ, अशिष्ट अनैतिकता पनि छ । अनादि परम्परा छ, अनन्त आधुनिकता पनि छ । प्राचीनता र अर्वाचीनताको चेपमा निस्सासिरहेको छु म ।
यहाँ जसले जे गरे पनि हुने ! मन्दिरबाट मूर्ति पुक्लुक्क उखेलेर सुटुक्क डलरसँग साटे पनि हुने, सडकको मान्छेलाई बेवास्ता गरेर टाउकोमाथि फोहोर फाले पनि हुने, अरूको समयको ख्यालै नगरेर सडक जाम गरिदिए पनि हुने अरूको खल्तीमा हात हालेर लुसुक्क एकातिर भागे पनि हुने, हिँड्दाहिँड्दै कसैकी छोरीचेलीलाई च्याप्पै समाते पनि हुने, कसैमाथि रिस उठे छ्याक्कै छप्काए पनि हुने ! धन, धक्कु र ठाउँमा आफ्नो मान्छे हुनेहरूको सामु निरीह हुनुको पीडा भोगिरहेँछु म ।