एका विहानै निष्ठा काठमाण्डौ जानकोलागी ठाँटिएर बसेकी छ । उसको जन्मको प्रसव–पिडाबाट उसको आमाको मृत्यु भएकोले समाजको दृष्टिमा उसले आमा खाई । आमाको न्यानो काखमा खेल्ने उमेरमा सौतेनी आमाको गाली ,हप्किदप्कि खाएकी निष्ठाले आफ्नो बाल्यकालमा कहिल्यै हाँसो खुसीको रङ्ग महशुष गर्न पाइन । त्यसैले पनि होला उ मन्दिर धाउथी र आफ्ना सारा पिडाका महासागर बगाउथी । पानी पंधेरो गर्दै निष्ठा तरुणी भई , उ सुन्दर थिई जसका कारण जो कोही पनि उसलाई पाउनको लागी मरिमेट्थे । तरुणी निष्ठा यौवनको उन्मादमा स्वतन्त्र भइ विचरण गर्न चाहन्थी । यस्तैमा गाँउकी सोझी निष्ठाले एकजना परदेशी पाई जसले निष्ठालाई धेरै माया गथ्र्यो । पत्येक पल्ट गाँउ आउदा चुरा धागो टिका गाजल जस्ता सज्जाका सामान ल्याइदिन्थ्यो । विस्तारै परदेशी उसको सजिव भगवान बन्छ अनि निष्ठा मन्दिर धाउन छाड्छे । आज त्यही परदेशीसंग लगनगाँठोमा बाँधिएर उ काठमाण्डौ जान लागेकी हो ।
काठमाण्डौ जाने तयारी पुरा हुन्छ । गाँउका केही तरुणीहरु निष्ठाको भाग्य देखेर डाहा गर्छन् । काठमाण्डौ पुगेपछि उसको भगवानले उसलाई एक कोठीमा बेचीदिन्छ । उसलाई विश्वास लाग्दैन तर उ विवस हुन्छे । उसको मनको सजिव भगवानको धरोहर भत्किन्छ । उ जेनतेन गरेर कोठीबाट भाग्न सफल हुन्छे । काठमाण्डौ , भिडभाड र कोलाहालको अपरिचित निर्दयी शहर उसलाई कहाँ जाउ के गरौं हुन्छ । काम कसैले दिन मान्दैन अनि सिथिल शरिर , भोको पेट लिएर उ मन्दिर धाउछे भगवानको शरणमा । मन्दिरको पेटीमा बसेर माग्न थाल्छे तर धर्म गर्ने कसैले पनि सुकी दिदैन उल्टै शब्दबाण प्रहार गर्छन “पाप पखाल्न आइहोली नी मन्दिरमा... ।” रात पर्छ , चारैतिर सन्नाटाले गाँजेको रातमा अब भगवानकै समिपमा उसलाई डर लाग्न थाल्छ । कतै नजिक केही रक्सि खाएर मातिएको आवाज सुनिन्छ । उसले चाल नपाउदै उसलाई एउटा बलियो हातले समात्छ । उ भगवानकै अगाडी बलात्कृत हुन्छे ।