हाँसीहाँसी अर्कैसित, सुहाएर गयौ ।
अभागीका सपना सब, तुहाएर गयौ ।।
जालमा जकडाएपछि, छुरी हान्यौ जाली ।
दुनियाँको नजरभित्र, कुहाएर गयौ ।।
अघिल्लो साँझ आएकी थ्यौ', मुख मिलाउन ।
झरे झर्ना आँखाबाट, नुहाएर गयौ ।।
छातीभरि जताततै, थिए काफी चोटहरू ।
जाने वेला एक घुट्की विष, खुवाएर गयौ ।।
सक्यौ हगि?आफ्नै हातले, आगो लगाउन ।
आर्यघाटको सेरोफेरो, धुवाएर गयौ ।।