"चामल पाथीको दस रुपियाँ! दस रुपियाँ? अब पनि भात खाएर साध्य भयो त? कृषिप्रधान देशमा अन्नको यो अनिकाल!"
"अँ, अन्नपूर्णाको दर्शन गर्न आएको; भाकल थियो। अरुभन्दा मलाई यिनै देवीको विश्वास लाग्छ। यी साक्षात देवी हुन्।"
"देवी त देवी टुँडालदेवीको मूर्ति पनि झन्डै चोरिएको रे। कस्तो काल! हामी केही नचोरियोस् भनी देवता पुकार्छौं, देवता स्वयं चोरिन्छन् हेर न ...!"
"हेरिसकें मैले, त्यही बेलबटम्वाली होइन? निकै नखरमाउली रहिछ।"
"जवाना भी यिनका जवानी भी यिनकी - बुझिनस्?"
"बुझें हजुर! रुपियाँको पाँच मुठा भयो, भयो लगिबक्स्योस्- पात राम्रो छ। बिग्रेको रहेछ भने म मोरीले यो जोवन भन्नै नपाऊँ। हजुरहरुलाई के थाहा छ, यति पात टिप्न कस्तो ...!"
"मलाई सब थाहा छ - उसको सम्बन्ध अचेल कतातिर छ भन्ने। अघिअघि सिद्धाको दशा लाग्यो भने आजको सुदामा भोलिको कुबेर हुन्छ भन्थे, अचेल सिद् (CID) मात्र हुन सके आजका बेकार भोलि तिनोटा कार हुन्छ।"
"सरकारी कारलाई साइड दिनुपर्छ भन्ने तँलाई थाहा छैन? दुई दिन टोयोटा चलाउन पाएँ भन्दैमा टुप्पिएको छुसी, तै, फुच्चाको खुट्टामात्र किचिएछ, ज्यान गएको भए ...!"
"... ज्यानको मूल्य मामुली भन्ने कि अमामुली? एकातिर गैसकेको ज्यानलाई मुटु फेरेर पनि जोगाइन्छ; अर्कातिर बम बर्साएर हजारौं ज्यानको एक चिहान पर्छ।"
"परे आफ्नो उपकार नपरे परोपकार। भाग्योदय चिट्ठा किन्नुहोस् भाग्योदय, - पहिला १ के एक लाख पच्चीस हजार।"