...धनपति मागे भीक, मेरो नाउँ ठीकका ठीक” भनेझैँ मलाई पनि एकपल्ट आफ्नो नामदेखि साह्रै जङ चलेर आयो । आफू देख्दा बकुल्लोजति गोरो छु, तर मान्छे भनिदिन्छन् ‘कालू’ । सलसलाउँदी युवतीलाई ‘छयाके पुतली’ भन्दा कति जाग्लिन् ? अनि म नजागूँ कसरि ! अचेल कसैको नामको पुच्छर काटेर ठुटे गराएका छन्, कसैले भने भएको पुच्छरले नपुगी अर्को पुच्छर गाँसेर द्विपुछ्रे हुनुपरेको छ । अझ कोही नाममा भए-नभएको टुपीसमेत गाँसेर ठूलाबडाको झन्डा फहराउँछन् ।
कोही राख्ने नाउँलाई फार्ने गराउँछन्, कोही फार्नेलाई राख्ने । विष्णुका सहस्र नामजस्तै एउटै मान्छेका सत्रोटा नाम पनि सुन्नुपरेको छ । ००७ सालको राजनीतिक क्रान्तिसँगसँगै जोरिइर आएको यो नाम क्रान्तिले मलाई पनि नउराली छाडेन । म कति दिन ‘कालू’ को ‘कालू’ रहेन ? राख्ने नामलाई नै फार्ने गराऊँ न त भने झन् नमिल्दो छ ‘खडेश्वर’ । ठूलाबडाको सामु दुई मिनेट खडा हुनुपर्दा कामज्वरो चढेझैँ लगलग पाँसुला काम्ने मेरो नाम ‘खडेश्वर’ । पहिलो कुरा त के छ भने बाबुदेखि लिएर साहूसम्म सबैको जिभ्रामा झुन्डिएको छ- कालू । प्रख्यात भैसकेको नाम छाडेर मलाई कल्ले खडेश्वर भन्ने ? भनिहाले पनि नाम बिगारुकलामा सुप्रसिद्ध हाम्रा साथीभाइले खडेश्वरलाई छोट्टयाएर फकाउनुपरे ‘खडु’, होइन भने ‘खडे’ भनिदिन्छन् ।