हिन्दुहरुले साँढेलाई महादेवको निजी वाहनको पदमा नियुक्त गरिदिएका छन्। महादेवलाई वाहनको आवश्यकता थियो-थिएन दैव जानोस्,तर आफूलाई जेजे चाहिन्छ देवीदेवताहरुलाई पनि त्यही चाहिन्छ भन्ने मान्छेको धारणा रहँदै आएको छ। आफू घोडा, हात्तीमा चढ्ने हुँदा हाम्रा पुर्खालले आफ्ना देवीदेवताहरुको लागि पनि चढेर हिंडने एउटा जनावरको प्रबन्ध गरिदिएका छन्। जस्तै- विष्णुलाई गरुड, देवीलाई बाघ, यमराजलाई राँगो र गणेशलाई मुसो। आजको जमाना हुँदो हो त विष्णुलाई गरुडको सट्टा हेलिकोप्टर दिइँदो हो। यस्तै आरुलाई पनि दर्जा हेरी कार, स्कुटर, रिक्सा, साइकल आदि वितरण गर्दै गणेशजीलाई चाहिं गाडाकै प्रबन्ध गरिन्थ्यो कि? भन्नाको मतलब आजका हिन्दूले महादेवको बन्दोबस्त गर्नुपरेको भए वा महादेव अहिलेसम्म रहेका भए त्यही साँढे चढी के हिंड्दा हुन्? यताउति हिंड्न कमसेकम एउटा मर्सिडिज कार र हिमालयमा ससुराली जान एउटा विशेष किसिमको हेलिकोप्टर त उनीलाई चाहिन्थ्यो, चाहिन्थ्यो। तर जान दिऊँ उस बेला जे भयो, भयो। महादेवको विशेष वाहनमा श्रीमान् साँढे नै नियुक्त भयो।
त्यति उच्च ओहदामा नियुक्ति पाउने योग्यता साँढेसित के थियो र भन्ने प्रश्न उठाउने आवश्यकता नै छैन। कारण योग्यताभन्दा माथिका दुइटा महायोग्यता ऊसित थिए। पहिलो त साँढे भनेको गाईको साक्खै लोग्ने हो, उसकी श्रीमतीसिति आमाजस्तै एउटा धार्मिक साइनो हाम्रो लागेको छ। यही साइनोले उपल्लो नातेदार भएको साँढेलाई तल्लो ओहदामा राख्ता उसको प्रतिष्ठा घट्ने कुरा त छँदै छ, दुनियाँमा नसनाताको महत्त्व नासिंदै जान बेर छैन। साँढेको अर्को महायोग्यता हो उसको फुँकार। आध्यात्मिक जगतमा ओंकारको जति महत्त्व छ व्यवहारिक जगतमा फुँकारको उत्तिकै महत्व छ भन्ने कुराको ज्वलन्त प्रतीक साँढेले पाएको सम्मान हो। ऊ रुष्ट भयो भने पर्खाल भत्काउन, बाली बेमाख पार्न र फाँक्क र फुँक्क गरी मान्छे हान्न सक्छ, त्यसैले उसलाई एउटा माथिल्लो पदमा सुशोभित गरिदिन पाए जुरो नचाउँदै जिभ्रो मिठ्याइरहन्छ, सायद यही सोचेर उसलाई त्यत्रो ओहदा प्रदान गरिएको हि कि? जे होस्-