आइतबार
धेरै दिनदेखि मेरो मनःस्थिति असन्तुलित छ । यी गाउँ र सहरहरूको भविष्यसँग वर्तमानले खेलबाड गरेको देख्ता मलाई वर्तमानसँगै घृणा पैदा भएको छ । यो देशका प्रत्येक मानवीय जीवनसँग जोरी खोजिरहेको परिस्थितिले मेरो हृदय कम्प गराइरहेछ । म भन्न अनि निश्चित गर्न सक्तिनँ धेरै दिनदेखि मलाई किन यस्तो भइरहेछ ? मेरा प्रत्येक अङ्ग–प्रत्यङ्गहरू कामेर जुरमुराउन खोज्छन् केही निश्चित बाटो पहिल्याउन, सुन्दर भविष्य तयार गर्न, तर पनि स्थिति यति विकराल छ जहाँ म खुट्याउन पनि सक्तिनँ । आज म सबेरै बिउँझिएको छु । दैनिक कार्यतालिकाअनुसार मेरो चिया आइपुगेको छैन । चिया आइपुग्न अझै दुई घण्टा बाँकी छ । चियाका लागि मैले दुई घण्टा प्रतीक्षा गर्नु छ । मैले निश्चय गरेँ, आज बिहानको चिया म मेरो साथी जीवनकहाँ पिउँछु । यो विचार गरी म घरबाट निस्किएँ ।
जीवन मेरा धेरै पुराना साथी हुन् । उनी एक सरकारी कार्यालयमा नायवसुब्बा छन् । काठमाडौँको ठाउँ, एउटा सानो डेरा ! बस्, राम्रै छ । उनकी श्रीमती आफैँ खाना बनाउँछिन् । दुई बच्चा स–साना, स्कुलमा पठाउने बेला भइसकेको छ । जीवन अफिस जानुअघि र अफिसबाट फर्किएपछि छोराछोरीसँग भुल्ने गर्छन् । किनभने उनकी श्रीमतीलाई उनले बिहान–बेलुका बच्चाबाट फुर्सद पनि त दिनु छ ! उनको पारिवारिक सुख देख्ता मलाई आहारिस लाग्छ । कति रमाइलो वातावरण छ उनको घरमा ! सबै काम विनानोकर टाकटुक सकिन्छ ।
जीवनको कोठाको ढोकामा नपुग्दै अनायास मेरो खुट्टा रोकिन्छ । भित्र दुई लोग्नेस्वास्नीबिचमा भएको गनगन सुन्न पुगेँ । मैले जीवनलाई बोलाउने हिम्मत गर्न सकिनँ र त्यहाँभन्दा अगाडि बढ्न पनि सकिनँ । ती दुईको कुराकानी म टड्कारो सुनिरहेको छु ।
“तिमी किन कुरा बुझ्दिनौ बाबा ! मात्र कचकच गरिरहन्छ्यौ । पैसा हुनेले बोर्डिङमा पढाउन्, दार्जिलिङ पठाउन् र लन्डन प्रुयाउन्, मलाई केको मतलब छ ? भएको खान देऊ । घरमै पढाऊ । अर्को साल त्यो दोबाटोको प्राइमरी स्कुलमा भर्ना गरिदिउँला । मेरो प्रमोसन पनि हुन्छ र पैसाले पनि पुग्छ ।”
“हजुरले पोहोर साल पनि त त्यसै भन्नुभएको थियो ! छोरो छ वर्ष पुगिसक्यो, छोरी चार वर्ष पुगिसकी । कहिले स्कुल भर्ना गर्ने, केही निधो भएन । उहाँ रामकृष्णका छोराछोरी परारदेखि नै बोर्डिङ्मा पढ्दै छन् । हजुरकै जस्तो सुब्बासाहेब दर्जा त हो नि उसको !”
श्रीमतीले कुरा नबुझेकीमा जीवन झर्कँदै भन्छन्— “तिमी कस्ती अबुझ छ्यौ ! तिमीलाई थाहा छ मेरो तलब कति छ ? त्यसबाट घर राम्रो गरी चल्छ कि चल्दैन ? कति महिना भइसक्यो चिया खान छाडेको । बिहान– बेलुका उसिना चामलले मात्र तिम्रो पेट भर्न सकेको छैन भने कसरी यो साल केटाकेटीलाई स्कुल पठाउनु ! भन्न सजिलो छ, स्कुल पठाउने त हो नि ! लुगा हालिदेऊ, किताब किन, तिर स्कुलको फिस । अब तिमी कुरा गर्छ्यौ रामकृष्णको । उसले किन नपढाउनु ! त्रिभुवन एयरपोर्ट भन्सार कार्यालयको जागिरे नासु । उसको दैनिक आम्दानीले उसकै तीन महिनाको तलबलाई जित्छ । त्यति मात्रै ? एक वर्ष टिक्यो भने जिन्दगीभर सुती–सुती खान पुग्छ । अब हेर न, दुई वर्षअगाडि खरदार हुँदा तीन महिना बस्न पाएको थियो । उसको स्ट्यान्डर नै अर्कै भयो । उसको कुरा गरेर पनि हामीलाई हुन्छ ? भो नकराऊ, भात पकाउन जाऊ । अफिस जान अबेर हुन्छ ।”