धेरै भएको थियो मैले रोहिनीलाई नभेटेको । यस्तै भयो होला ९ वर्ष जति।अन्तिम पटक मैले उनलाई डाँडा गाउँको पोस्टमा सर्चमा जाँदा भेटेको थिएं ।त्यसपछि बेपत्ता भएकी उनि अहिले उहि डाँडा गाउँनै जाने त्यहि आर्मी पोस्टमै भेटिएकी थिईन् ।
झन राम्री पो देखें साथमा लगभग ७ वर्ष जतिको चन्ञ्चले छोरो पनि थियो । त्यो देख्दा मन एकतमासको हुनपुगेको थियो ।कता कता खल्लो मशसुस गर्दै थिएं । उनलाई भेट्न पाउँदा भने खुसीले भुईँमा खुट्टा थिएन ।
यतिका वर्ष पछि उ भेट्दा पनि उस्तै रुप , रङ्ग ,हिडाँई, देखेर म अचम्ममै पो भएं त। गोरी, अग्ली ,लामो कालो कपाल, निलो निलो आँखा सबै उस्तै ,फरक् थियो त मात्रै उनको शरीर अलिक फैलिएछ भन्नाको मतलब अलिक मोटी भैइछिन् । झन् झन् सुन्दर देखें ।
' रोहिनी कहिले आयौ?" मैले कुराकानी शुरुवात गर्ने मनसायले सोधें । उनि झस्याङ्ग भैइन् किन भने म एक्कास्सी उनको नजिक पुगेर यो प्रश्न गर्न पुगेको थिएं ।
उनले मलाई यादै गरेकी थिईन क्या रे । मैले भने उनलाई अघि त्यो उकालोमा छोरा डोर्याउँदै आउँदा देखेको थिएं ।
" आम्मै राजु तिमी? तिमी त यहि पोस्टमा पो छौ? " उनि आश्चर्यचकित भैइन मलाई त्याहाँ देखेर ।
" हो नि म नगरकोट ब्यारेकबाट २ महिना भयो यहाँ पोस्टिङ्ग भएको ।अनि तिमी चै कहिले आयौ नेपाल?" म नि दङ्ग पर्दै थिएं रोहिनिलाई वर्षौ पछि भेट्दा ।
" काठमाण्डौं आएको त भयो १ महिना जति । म तल शहरतिरनै बस्छु ।आमाकोमा चै आज जानलाई हिडेको ।" उनि त्यो ठाडो उकालो करिब १ घण्टामा उक्लिन् होला भन्ने मैले अनुमान लगाए ।अलि थकित अनुहार देखें ।तुरुन्तै " ए श्याम लौ ३ वटा मेच लेरा त " भनिहाले।
"हस् सर" भन्दै श्यामले मेच भित्र अफिसबाट झिकेर ल्याईहाल्यो ।
" बसन रोहिनी ,निकै थकित देख्छु तिमीलाई ।सायद शरीरले अब साथ दिएन जस्तो छ।पहिले पहिले त पातली थियौ र पो मृगको पाठा जसरी उफ्रदै हिड्थ्यौ ।"