आज साउनको चार गते । उसको जन्म दिन । यस अघिका जन्म दिनहरुमा उसले एका बिहानै मम्मी आज मेरो जन्म दिन भनेर सम्झाउथ्यो¸ म सदा खुसी सुखी रहेस् भनेर आशिष दिन्थेँ । मलाई उसको जन्म दिन सधै याद रहन्थ्यो तर पनि सधै नै उसले फोन गर्थ्यो । यस पाली पनि फोन गर्छ कि भन्ने आश लागिरहेको थियो तर गरेन । सधैका जस्तै आमाको मुख हेर्ने औँसीका दिन पनि उसले मलाई सम्झेन । मैले आफैले जन्म नदिएको भएर होला उसले मलाई बिर्स्यो वा सम्झने आवश्यकता देखेन ।
उसकी आमाले ऊ चौध महिनाको हुँदा छोडेर हिडेकी थिई रे । अण्डकोषमा हर्निया भएर थला परेको हिडडुल गर्न नसक्ने बच्चालाई पालेर घरैमा बस्ने ईच्छा नगरेर अब कहिल्यै फर्की नआउने र अर्को बिहे गरेमा बाधक नबन्ने घरायसी कागज गरेर उसकी आमाले छोडेकी थिई रे । उसका बाबुले यस पछिका डेढ बर्ष सम्म बिरामी छोराको जेनतेज स्याहार सम्भार र उपचार गर्दै उसकी आमा फर्केर आइहाल्छे कि भनेर कुरेर बसेछन् । ऊ तिन बर्षको हुदै गर्दा वालसुलभ चरित्र अनरुप चकचक गर्ने¸ एकठाउमा बसीरहन नमान्ने¸ जताततै फोहोर गरिरहने भएकोले अफिस लिएर जान पनि समस्या हुन थाले पछि अर्को बिहे गर्ने निधो गरेछन् । यसै बिचमा अण्डकोषको हर्नियाको तिन पटक असफल शल्यक्रिया पनि गरिएछ । राम्रो स्याहार गर्ने आमाको अभावका कारण उपचार सफल हुन सकेको रहेनछ । बिरामी र नाजुक बच्चालाई स्याहार गरेर हुर्काउनु पर्ने शर्त राखेर मेरो बुवा संग कुराकानी हुँदा अनाथ र असहायको सेवा गर्न पाउनु नै मानव धर्म हो भन्ने ठानेर बुवाले उहाँसंग मेरो बिहे गरिदिने बचन दिनु भएछ । भरखर सोह्र वर्षकी एसएलसी परीक्षा दिएर बसेकी मलाई बिहे¸ घरपरिवार¸ लोग्ने आदिका बिषयमा कुनै थाहा थिएन । यतातर्फ मैले सोच्नै भ्याएकी थिइन । स्कूल जाने¸ साथीसंगीहरुसंग रमाइलो गर्ने¸ भाइबहिनीहरुसंग खेल्ने र आमालाई काममा सघाउने बाहेक अन्यत्र मेरो सोच पुगेको पनि थिएन । अचानक बुवाले बिहेको कुरा गर्नु भयो र त्यसमा पनि टुहुरो जस्तो छोराको स्याहार गर्नु पर्ने शर्त सुनाउनु भयो । त्यस दिन मलाई सारै नरमाइलो लाग्यो । भाइबहिनी र आमासंग अंगालो हालेर खुबै रोएँ । तर अर्को तर्फ टुहुरो बच्चाको स्याहार गरेर हुर्काउने कामले पुण्य लाभ हुन्छ भन्ने बुवाको बचनले मेरो मन पग्लियो र हुन्छ भनिदिएँ ।