‘यो रेडियो नेपाल हो । राति नौ बजेको समाचारमा स्वागत छ म कोमल वली । सबैभन्दा पहिले यस प्रसारणका प्रमुख समाचारः परिक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यस वर्षको एस. एल. सी. परिक्षाको परिक्षाफल प्रकाशित गरेको छ, ……..’
“लौ तेरो रिजल्ट आएछ । अब पास भैहाल्लास क्यार कुन डिभिजनमा हो त्यै थाहा पाउने त होला नि । अहिले थाहा पाउने केही उपाय छैन, भोलि बिहान दुध लिएर तँ बजार जा, म चाहि गोरु लिएर खेतमा जाउँला । अँ साँची छिट्टै आउनु नि फेरी, भोलिनै ठूलो रोपार्इ छ, हली वाउसे अरु कोही छैन, तेरो रिजल्ट आउने थाहा भएको भए त अर्को दिन गर्न हुन्थ्यो नी, अब रोप्नेरी (रोपार) लगाइहालियो फेरि भन्या बेला रोप्नेरी पनि पाइदैन । अहिले सुत बरु ।” २०४७ सालमा किनेको फिलिप्स रेडियो बोकेरे बा सुत्न गए ।
सुते पनि निद्रा किन लाग्थ्यो र । २०६४ साल आसार २१ गते राती थियो त्यो । अरु दिन लोरीको काम गर्ने झ्याँउकिरीको ध्वनिमुद्रा त्यस दिन निद्रा बिच्क्याउने क्रन्धन झै लाग्दै थियो । म बाको मुहार हतास भएको हेर्न सक्दिनथे । अरु बानी ब्यवाहारले पिरोले पनि पढाइको मामलामा बालाई निरास तुल्याएको थिइन त्यस बेलासम्म । लाग्छ एस. एल. सी.भन्दा मुनी सन्तानहरू बा आमाकै लागि पढ्छन, मैले पनि त्यसबेलासम्म बा आमाकै लागि पढेको थिएँ । भोलि बिहान मेरो रिजल्टको समाचारले बाको मुहारमा कान्ति छाओस बस त्यही आशाले मन अनि शरीर छट्पटिरयो आधि रातसम्म ।
चौतारा बजार बिहानै एस.एल.सी मय भैसकेछ । दैलेख जिल्लाकै दोश्रो ठूलो स्कुलः विजया मा.वि. र त्यो स्कुलको प्रथम विद्यार्थी म । म गए पछि झन माहोल तातियो । त्यो भेग भरिको एउटामात्र फोन दुर्गा प्रसादको पसलमा थियोः सि.डि.एम.ए. फोन । कहिले पानी परेको आवाज मात्र सुनिन्थ्यो कहिले हावा चलेको, उताबाट फोन आउँदा तङग्रङ तुङग्रुङ तार हल्लेको आवाज सुनिन्थ्यो हेलो हेलोभन्दाभन्दा घोक्रो सुक्थ्यो तर बोलेको सुनिदैनथ्यो । फोन लागेर राम्ररी कुरो गरेपछि ठुलै युद्ध जितेझै हुन्थ्यो । सञ्चारको नाममा त्यै एउटा टेलिफोन थियो त्यहाँ । खाए खा नखाए घिच भनेझै हुन्थ्यो फोन गर्नेलाई । इमेल इन्टरनेटको त नाम पनि विरलै मानिसले मात्र सुनेका थिए होलान ।