आजभन्दा छयालीस वर्ष जति पुरानो सम्झना हो यो । वि. सं. २०१२ आश्विन ८,२३, २७ र कात्तिक १७ गते महाकवि लक्ष्मीप्रसाद देवकोटाले त्रिचन्द्र कलेजमा बी.ए. तृतीय वर्षको कक्षामा अङ्ग्रेजी साहित्यका क्लासिसिज्म र रोमान्टिसिज्म विषय र तत् विषय धाराका कविता बारेमा पढाउनुभएको थियो । सो कक्षाको मेरो क्लास नोट कापी मसँग अद्यापि मौजुद छ । त्रिचन्द्र कलेज भवनको तेस्रो तलामा रहेको 'कैलास कोठा' भनिने १२ नं को कोठामा वी.ए. तृतीय वर्षको कक्षा हुन्थ्यो । सो लामो कोठा घण्टाघरको ठीक उत्तरतिर सँगै रहेको मूल सडकबाट टड्कारै देख्न सकिन्छ। त्यसबखत् अङ्ग्रेजी साहित्य विषय सबै विद्यार्थीले पढ्नुपर्ने अनिवार्य विषय थियो । काठमाडौँ उपत्यकाभित्रका र उपत्यका बाहिरका ठाउँठाउँबाट उच्चशिक्षा पढ्ने विद्यार्थीहरू सबै त्रिचन्द्र कलेजमै भर्नाहुन्थे । महाकवि देवकोटाले लिने अङ्ग्रेजी साहित्य विषयको कक्षामा प्रायः सबका सब विद्यार्थीहरू करिब दुई सय जना उपस्थिति हुन्थे- रुजु हाजिर हुन्थे नै । कक्षा समयभर त्यो लामो कोठा भरिपूर्ण हुन्थ्यो ।
महाकवि देवकोटा बाइस्कल चढेर त्रिचन्द्र कलेजमा पढाउन आउनुहुन्थ्यो । बाह्र नम्बरको कैलास कोठामा कक्षा लिन दुईदुईवटा बडेमाका काठका भर्याङ उक्लेर उहाँ ठीक समयमै (दोस्रो पिरियडको समय १०.४५ बजे) कक्षा कोठामा प्रवेश गर्नु हुन्थ्यो । हामी विद्यार्थी आदरपूर्वक उठेर उहाँलाई अभिवादन गर्थ्यौँ । देवकोटा सर उभिएरै पढाउनुहुन्थ्यो ।
कालो घुँग्रिएको माझ र पछाडितिर छाल तरङ्गझैँ देखिने कपाल नै उहाँको शिरपोस श्रीशोभा थियो । सेतो सफा दौरा सुरुवाल, मोजा र पालिस लगाएर टल्काइएका जुत्तासहितको राष्ट्रिय पोसाकमा उहाँ आउनुहुन्थ्यो । सादा जीवन, उच्च विचारको भावना र आदर्श । उच्च स्वस्थ कल्पना, सिर्जनशील प्रतिभा र विद्वत्ताले धप्प जल्दाबल्दा सौम्य एवं भद्र व्यक्तित्वको चहकमहकले त्यो लामो कक्षाकोठा नै उज्ज्वल भएको प्रतीत हुन्थ्यो मलाई ।