पात्रहरु :
१) बौद्द भिक्षु
२) युवक ( प्रभाकर )
३) युवती ( अनामिका )
४) युवक २
५) बृद्द
६) पत्रीका व्यापारी
( दृष्य - १ )
*
स्थान: एक गुम्बा
समय : बिहान
बातावरण : ( बिहान भए पनि कालो बादल लागेकोले अँध्यारो छ । गुम्बाको चारैतिर मानव चित्कारको कोलाहल सुनिन्छ । गुम्बा परिसरको एक छेउमा एउटा वेवारिसे लाश देखिन्छ । अर्को छेउमा एक युवक चुरोट तान्दै झोक्राइरहेकोछ । एउटा बौद्द भिक्षु हातमा दियो बोकेर गुम्बा परिक्रमा गर्दै - ॐ मानेपेमे ... ॐ मानेपेमे ... अलापिरहेकोछ । अचानक उसका आँखा गुम्बाको अग्र भागको एक छेउमा पुग्छन् । भिक्षु आश्चर्य चकित हुन्छ । )
*
भिक्षु :- ( अत्ताल्लिएर माला जाप्दै ) ॐ मानेपेमे)... ॐ मानेपेमे... हे भगवान ! के अनर्थ देख्दैछु एकाबिहानै यि आँखाले ? मान्छेको लाश... ? हेर चुर्लुम्मै रगतमा डुबेको ... ? आलै जस्तो छ । कस्तो अपसगुन ? कस्तो घोर अनर्थ ...? गुम्बाभित्रै मान्छेको हत्या दिनदहाडै ? कसले मार्यो होला यसलाई ...? किन मार्यो होला ? के बिगारेको थियो यसले...? जसले यो मान्छेलाई मार्यो, के फाईदा भयो होला त्यसलाई ? कस्तो नौजवान युवक, कसको छोरो होला ? स्वास्नी छोराछोरी पनि थिए कि ? तिनिहरुको कत्ती बिल्लिबाठ भयो होला ? कठै,... च्व... च्व... च्व... । शान्ती पावस् बिचराको आत्माले । ( गुम्बाभित्र अवस्थित बुद्दको मूर्तितिर फर्केर )ॐ मानेपेमे... ॐ शान्ती । हे गुरु ! हे शान्तीका अग्र दूत ! यो कस्तो घोर अनर्थ भइरहेछ तिम्रो आँगनमा । तिम्रै आँखाको अगाडि तिम्रै सन्तानहरु यसरी ढल्न थालिसके । तिमीले शान्तिको बिउ छरेको धर्तिमा हिंसाका काँडेझाडीहरु झाँगीरहेका छन् । तिमीले स्नान गरेको पवित्र नदीहरुमा निरिह र निर्दोष मान्छेहरुको रगत बग्न थालेको छ आजकल । जङ्गलका चराचुरुङ्गी र जनावरहरु पनि बसाईं सर्न थालिसके । यो धर्ती पनि पिडाले काँपिरहेकोछ,आकाश रोइरहेकोछ,छटपटाइरहेकोछ असह्य बेदनाले । यो बुढो सगरमाथा पनि धेरै माथिबाट टुलुटुलु हेर्दै आँशु पुछ्न बाहेक केही गर्न सकिरहेको छैन । हे मानवताका शिखा ! हे अहिंसाका पूजारी ! हे शान्तीका सर्वोच्च नायक ! यहाँ मानवता दुखिरहेकोछ, यहाँ शान्ती छटपटाइरहेकोछ, यहाँ अहिंसा चाहर्याइरहेकोछ । त्यसैले अब आँखा खोलिदेऊ... ( लाशतिर देखाउँदै ) यि हेर, के यो दर्दनाक स्थिती तिम्रा आँखा ले निसंकोच हेरिरहन सक्छन् ? तिमीले सिकाएको अहिंसाको पाठलाई अपमान गरेर तिम्रै काखमा यती बिघ्न निर्मम र बर्बर हिंसा भइरहेकोछ । त्यसैले म एउटा भिक्षु,तिम्रो सच्चा शिष्य यही एउटा भिक्षा मागिरहेकोछ । ब्यूँझिदेउ एक पटक,सिर्फ एकपटक र छरिदेउ एकपटक फेरी यि अज्ञानीहरुका सबै इन्द्रियमा दिब्य ज्ञानको ज्योति, पोखिदेऊ शान्तिका किरणहरु यो जगमा... । ( फेरी छेवैको युवकतिर लम्किंदै ) ॐ नमो बुद्दाय... ॐ शान्ती... बाबु ! तिमी को हौ ? यती धेरै अगाडिदेखी मूर्तिवत यहाँ बसिरहेका छौ, यो बेवारीसे लाशका सम्बन्धमा केही जानकारी छ तिमीलाई ?
*