छाना माथि बाट झुण्डिएका फर्सी,
घारीघरको छेउ मै
ठुलो पिपलको बोट,
अनि
केराको घारी,
झुंडी रहेका मालभोग केराहरु,
आज किन मेरो गिद्दीमा
झुण्डिएको होला ?
लटरम्म फलेका
अम्बा र अनारका फलहरु,
इनार कै छेउमा
एकातिर अमला
र
अर्को तीर आपको बोट,
निबुवा, ज्यामिर र कागतिका बोटहरु
घरका समझना दिलाउँदैछन्,
चुलेशिले भोगटे ताछदा
च्वाटटै औला काटिदा
सैपत्रिको रस निचोरि
औषधि उपचार गरिन्थ्यो,
ढकमक्क फुलेका
ति पारिजातका फूलहरु
बोट हल्लाउँदा
मोती झरे झैँ भान हुन्थ्यो,
आज किन
गूंजी रहेछ मेरो कानमा
हजुरआमाले मन्दिरमा बसी
भटभटाएको
संस्कृतका ति श्लोकहरु,
म महसूस गर्दै छू
आरतीको राप अनि
धुपबत्तीको बासना,
होइन आज के भो मलाई ?