घटना मातृकाबाबु प्रधानमन्त्री हुँदाको हो । पूर्वराजा ज्ञानेन्द्रकी आमाको विवाह श्री ५ महेन्द्रसँग भएपछि कारणवश उनको मृत्यु भयो । तत्पश्चात् श्री ५ महेन्द्रले स्वर्गीय महारानीकै बहिनी रत्नसँग प्रेम भएको हुनाले बिहे पनि उसैसँग गर्छु भन्ने अठोट गरेका थिए । यता त्रिभुवनचाहिँ त्यो घरमा वा त्यस केटीसँग बिहे नहोस् भन्ने चाहन्थे । उनले छोरालाई सम्झाए । भने, "हाम्रो पनि त कतिसँग प्रेम भयो होला, के तिनलाई बिहे गरेर साध्य हुन्छ । अथवा, ल प्रेम भयो भने ठीकै भयो, बिहे गर तर राजगद्दीमा राख्ने टाइपकी अर्की मैले रोजेकी केटीसँग बिहे गर ।"
तर, राजा महेन्द्र टसका मस भएनन् । यस विवाहमा राजा त्रिभुवन र उनकी रानीको घनघोर विमति थियो । यस कुरालाई साम्य पार्न, मातृकाप्रसाद, सूर्यप्रसाद आदि गएका थिए तर उनीहरूले समाधान दिन सकेनन् । महेन्द्रकी आमाले त केसमेत भन्न भ्याइन् भने यदि महेन्द्रले रत्नसँग विवाह गर्यो भने उसले राजगद्दी नै त्याग्नुपर्छ । यस्तो कुरा सुनेपछि मातृका, सूर्यप्रसादलाई आश्चर्य लाग्नु त स्वाभाविक थियो । तर, महेन्द्रले मानेनन् । उनले पनि अड्डी नै लिए र केही मानिस लिएर नागार्जुनमा गई रत्नसँग विवाह गरे ।
बाहिरबाट हेर्दा मात्रै हो दरबारयिा शानशौकत तर भित्री रूपमा तिनीहरू अत्यन्त पीडित हुन्छन् । मैले त त्यस्तो नै सोच्ने गरेको छु र वास्तविकता पनि यही नै हो । जब मैले ती सब कुरा थाहा पाएँ अनि मैले राजा त्रिभुवनलाई यो त राम्रो भएन । युवराजलाई राजगद्दीबाटै बेदखल गर्ने कुराले त सरकारको इज्जत-प्रतिष्ठामा आँच पुर्याउँछ भनेपछि सो विवाहप्रति अनिच्छुक हुँदाहुँदै पनि त्यस हदसम्म नजाने सोचचाहिँ बनाए । तर, त्यो विवाहमा आफू कतै संलग्न भएनन् । राजहठ भनेको सायद यही र यस्तै होला ।