दुर्घटना घट्नै पर्ने थियो, सायद।
घटयो पनि त्यसैले।
तरुनी भएकी छोरी यस बेलासम्म घर आएकी छैन । छटपट भइरहेछ । पिरोलिइरहेको छ मन । आफै आफूसित रन्थनाउनुसिवाय अरू सोच केही छैन।
दिनदिनै अखबारमा आउने कुसमाचारहरू सम्झेर एकपल्ट मन अमिलो भएर आयो । उसको बुबा भने दिनभरिको थकान बिसाएर मस्त निद्रामा पुगिसकेका थिए । उनलाई हेर्छु क्या निश्चिन्तताको निद्रा ! म पनि यसरी नै निदाउन सके कस्तो हुन्थ्यो ! फगत कल्पन्छु । कसै गरे पनि आफूचाहि निश्चिन्त हुन नसक्ने रहेछु।
अनायास कसैले ढोका ढकढक्याएझैं लाग्छ । भ्रान्ति पनि हुन खोज्थ्यो कतिकतिखेर। हतपताएर ढोका खोल्न पुग्छु। निस्तब्ध चकमन्नता मात्र थियो बाहिर । छोरीहरूको कोठातिर फर्कन्छु । ठूली छोरीको बिछयौना रित्तो थियो। ऊभन्दा पन्ध्र वर्षसानी छोरी सपनामै मुसुक्क हाम्सिरहेकी थिई । चिन्तित मेरो मानसपटलमा उसको अबोध चेतनापरिदृश्यले एकैछिनका लागि भए पनि मलाई धपक्क तुल्याउन खोजेको थियो।
अबचाहिं ढोका निकै जोडले ढकढक्याएको आवाजमा कुनै भ्रान्ति थिएन। म हतारिंदै ढोका खोल्न पुग्छु। आफ्नो शरीरको सम्पूर्ण भारी मेरा अँगालोमा खन्याएर सुमिता फुसफुसाइरहेकी थिई, “मम्मी!”