निस्तब्ध रात कुनै स्वास्नीमान्छेको निर्जीव हृदय हो, जसलाई चिरेर एउटा तीतो स्वर, कुकुरको सानू छाउरोको प्रलाप, बाँसको लिङ्गोजस्तै ठडिन्छ आकाश छुने गरी - क्याइँ क्वँ वाँ वाँ वाँ ईं ईं ईं क्वाँ वाँ वाँ वाँ वाँ ईं ईं ईं ईं ईं ईं...! यो चीत्कार दोहेरिन्छ, तेहरिन्छ, चौहरिन्छ, प्रत्येक पटक अझ सघन, अँ तिखो, अझ अग्लो भएर कराउँछ यो आवाज।
किस्नेलाई यो मन पर्दैन।
ढोकाबाहिर चिसो सडकमा नाङ्गो आकाशमुन्तिर जरुवा पानीझैं यो आवाज भुलुभुलु उम्रेको छ, प्रत्येक पछिल्लो क्षणमा झ्याङ्गिदो छ र किस्ने ढोकाभित्र रेष्टुराँको चिसो छिंडीमा शीताङ्ग छ। विचित्र किसिमको जाडोले ऊ काम्दो छ। उसका पैताला भुइँजति चिसा छन्; औंलाका टुप्पामा ठिही छ। अनि घुँडामा एक किसिमको दुखाइ छ। जति बढी चिसिंदै गयो, त्यो दुखाइ उति बढी हुँदै जान्छ। उसलाई पनि एक पटक त्यै कुकुरको छाउरोजस्तो गी कराउन मन लाग्छ। तर सक्तैन। किनभने ऊ मानिसको छाउरो हो र ऊ ढोकाभित्र छ।
त्यसैले किस्नेलाई त्यस कुकुरको छाउरोको आवाज तीतो लाग्छ। के ढोका खोलिदिऊँ, छाउरो भित्र पसोस्, अँगालेर सुतूँ, उसलाई पनि तातो, आफूलाई पनि तातो, ऊ सोच्छ! विचार बेसै हो, ऊ विचारप्रति विचा गर्छ। तर ऊ ढोका खोल्न उठ्दैन। दुइटा बेन्च जोडेर सुतेको छ। सासको तातोले अनुहार र छाती, काखीको तातोले दुवै हत्केला तातेका छन्। ती जम्मै सेलाउँछन् ढोका खोल्न उठ्यो भने। पैताला हिमाल हुन्छ। अहँ, ऊसँग त्यति जाँगर छैन। छाउरो अझ तीव्रतासाथ उकेल्छ उसको छातीमा नअटाएका तीतो।
रेष्ट्राँ बाह्र बजे बन्द भयो होला। तीनटा ऊजस्ता मसिना भुरा केटाहरु तीनटा लाठे कुकहरूसँगै गए। तिनीहरू कुकहरूकै डेरामा कुकहरूसँगै सुत्छन्। चौथो कुकसँग ऊ सुत्दथ्यो, जसले एक महिनाअगाडि मात्रै एउटी रण्डीसँग बिहा गरेको छ। अत: किस्नेको ठाउँ स्वत: त्यस रण्डीले लिएकी छ। यसरी हाल ऊ रेष्ट्राँमा सुत्ने गर्छ, एक्लै। काठमाडौंमा उसको जाडोको यो दोस्रो अनुभव हो। पोहोरको हिउँद उसले पल र जूलीसँग सुतेर बितायो। पल एउटा फ्रेन्च हिप्पी र जूली एउटी डच हिप्पिनी। उसको पहाडमा यस्तो विधि जाडो हुँदैनथ्यो। पोहोर दशैंताक ऊ यहाँ सडकमा सुतेर बिताउँथ्यो तैपनि यस्तो जाडो लागेको थिएन। कुकुरको छाउरो किन त्यसरी कराएको हँ? भोलि बिहानसम्म पक्कै मर्छ क्यार! कि ढोका खोलिदिने हो? (अब छाउरो धेरैचोटि क्वाइँ क्वाइँ नगरेर थोरैचोटि तर धेरै लामू समयसम्म र जोडसँग क्वाँ... ईं... क्वाँ... ईं... गर्न लागेको थियो।)