यो कथा होइन, दन्तेकथा हो, एकादेशको कुरा ।
मैले साथीबाट सुनें, साथीले उसको साथीबाट सुन्यो रे, उसले पनि उसको साथीबाट ।
सुन्ने सुनाउने क्रम अनन्त छ, तर कथाको अन्त्य यस्तो छ -
एकजना अन्यन्त योग्य हाकिम हुन्छन् ।
उनको ईमान्दारीले देशका ठूलादेखि साना, वरिष्ठदेखि गरिष्ट सबै तहका नेताहरू रिझिएका छन् । उनको कार्य-कुशलता र कार्य-क्षमताले गर्दा उनीभन्दा माथि, मुनि, बराबरी-सबै स्तरका जागिरदारहरू, सहकर्मीहरू, सहधर्मीहरू प्रसन्न छन् । उनीसँग काम पर्ने सबै जनता उनको गुण मान्दछन्, प्रशंसा गर्दछन्, भन्दछन् - हाकिम हुन यस्तो पो हुनु । बिझाएको कसैलाई छैन । पिर मर्का पारको कसैलाई छैन । सबैलाई रिझाउन सक्ने, जे जस्तो अप्ठयारो काम आइपरे पनि मेलो मिलाएर गर्न जान्ने ।
साँच्चै नै उनमा योग्य नेताको नेतृत्व दिन सक्ने क्षमता, योग्य प्रशासकको निर्णय दिन सक्ने दक्षता, योग्य व्यवसायीको वातावरणको सूक्ष्म विश्लेषण गरेर तदनुरुप कार्यसिद्ध गर्न सक्ने कार्य-कुशलता, योग्य बुद्धिजीवीको देश काल परिस्थितिको गहन अध्ययन गरेर काम निकाल्न सक्ने पात्रता - सबै थोक छ उनमा । त्यसमाथि उनको सबैसंगको व्यक्तिगत सम्बन्ध कति सुमधर छ भने कसैले पनि उनीले भनेको कुरा काट्नै सक्तैनन् ।