बाहिर वरिपरि धानचामल हालेका मकैका हरिया बोट हावाको तालसँगै यता र उता हल्लिरहेका थिए । एउटा घरको दलानमा गौंथली र भँगेराबीच निकै कोकोहोलो मच्चिइरहेको थियो । 'अर्काको मिहिनेतमा जुका सरी कहाँ टाँसिन पाइन्छ र ? आफैँले गरेर खानुपर्छ, आफ्नै पाखुरीको पौरखमा बाँच्न सक्नुपर्छ,' गौंथलीले चर्को स्वरमा कराए । 'त्यसो भए किन अर्काको घरमा आएर बस्ने नि ?' भँगेराले निहुँ खोजे ।
गौंथलीले पनि जवाफ दिन थाले, 'कसरी अर्काको घर ? कस्तो अर्काको घर ? हामीले आफूलाई भनेर यहाँ घर बनाउन सुरू गर्दा यहाँ कोही पनि थिएन ।'
गौंथलीलाई सात्तो खाने गरी भँगेरा कराए, 'तिमीहरूलाई हामी यहाँ बस्छौं भन्ने थाहा थिएन ? अर्काको बस्ने ठाउँ मिचेर आफू बस्न खोज्ने तिमीहरूले यो ठाउँ छोड्नु पर्छ, बुझ्यौ ?'
गौंथलीले पनि जवाफ फर्काए, 'ओहो ! ल हेर न, जो चोर उसकै ठूलो स्वर ! हामीले यो घर बनाउञ्जेल तिमीहरूलाई यस ठाउँबारे केही थाहा थिएन, अनि अहिले आएर हामीलाई निक्ली जाओ भन्ने !'
धम्कीको भाषामा भँगेराले भन्न थाले, 'भो, बाह्र सत्ताइस कुरा नगर । बरू खुरुक्क यहाँबाट निस्केर अन्तै गई हाल । होइन भने तिमीहरूलाई नै नराम्रो पर्ला ।' गौंथलीले पनि प्रतिवद्ध गरे, 'किन निस्कने हामी ? हामीले कसैको केही त बिगारेका छैनौं । बरू तिमीहरू नै अन्तै गई आफैँले घर बनाएर बस न । हामीले आफू बस्न बनाएको घरमा बस्न तिमीहरूलाई के अधिकार ?'
निकै बेरसम्मको यस्तो ठूलो कल्याङबल्याङपछि भँगेरा गौंथलीमाथि झम्टिए । आफूले बनाएको आफू बस्ने घर त कसलाई पो माया लागोइन र ? गौंथलीले पनि फटाहा भँगेरासँग आफ्नो घर जोगाउन ठूलो कोसिस गरे तर सकेनन् । सोझा गौंथलीलाई धपाएर भँगेरा गौंथलीको घरमा आफ्नो गुँड बनाई बस्ने थाले ।