"बुबा, मलाई एक जोडी टिसर्ट र पेन्ट त नभै हुँदै हुँदैन । मैले त भन्दिएको छु नि ।" माईली छोरीले दशैंको डिमाण्ड तेर्स्याइन ।
"मलाई त टिसर्ट र पैण्टले मात्र पुग्दैन । त्यसमा मिल्ने एक जोडी स्याण्डल पनि चाहिन्छ ।" ठूली कान्छीको यो डिमाण्ड हो यो ।
कान्छी छोरीको डिमाण्ड भने लुगा-फाटातिर नभएर दशैंमा खसी ल्याउनेतर्फ केन्द्रित थियो । उनी भन्दै थिइन - "मामु बाबालाई यसपटक त खसी ल्याउनु पर्छ भन्नुहोस् है । पल्लाघरमा त अस्ति नै कति ठूलो खसी ल्याईसके । दशैंमा मार हान्ने अरे । हामी पनि मार हान्नु पर्छ । दशैंमा मार त हान्नै पर्छ नत्र त दशैं आए जस्तै हुँदो रहेनछ । पोहोरसाल मार नहान्दा दशैं आए झैं लागेन ।"
ठूली कान्छीले सानी बहिनीको कुरामा सहमति जनाई ।
"मासु त अरुकहाँबाट ल्याएर खाए पनि हुन्छ तर लुगाफाटा चाहिं ल्याउनै पर्छ । नत्र म त टिकै लगाउँदिन बरु त ।" भित्रैबाट कान्छो चिच्यायो ।
"तँलाई खालि लुगा मात्रै ! अस्ति मात्र आमाले सर्ट पैण्ट ल्याइदिएको होइन ।" ठूली कान्छीले भाइको कुरामा असहमतिको पोको फुकाई ।
अरुकोभन्दा जेठो छोरा विजयको डिमाण्ड पनि कमको थिएन । उसले गत सालदेखि नै आमालाई डिङ्गो जुत्ता चाहियो भनेर पिरोलिरहेको थियो । यसपाली भने जसरी भए पनि त्यो डिमाण्ड पूरा गराउने सुरमा थियो जेठो । साथीहरूको अघि उसलाई मुख देखाउन नै नहुने भएको थियो । हाट-बजार जाँदा होस या अन्यत्र कतै जाँदा होस, ऊ डिङ्गोको अभावमा आफूलाई होचो भएको महसुस गर्दथ्यो । कहिलेकही त डिङ्गोको अभावले होला कही कतै जान पनि अल्छी गर्दथ्यो । तर साथीभाइलाई भने अरु नै वाहना बनाउँथ्यो । जुत्ता नभएर नगएको भन्दैनथ्यो । उसका साथीहरूले लगाउने गरेका कपडाहरूको त भनेरै साध्य थिएन । खै के के हुन के के हुन । थरी थरीका थिए । केहीसँग त हिरोहण्डा बाइक पनि थिए । उसले भने जावो एकजोडी डिङ्गो त हाल्न नसकिरहेको अवस्थामा हिरोहण्डा हाल्न सक्ने त कुरै थिएन । तर जसरी भए पनि जे गरेर भए पनि उसले यसपाली त्यो डिमाण्ड भने पुरा गराउनु थियो ।