जीवनमा गरिने सवै खाले यात्राहरुलाई त्यति महत्वका साथमा नहेरिँदा रहेछन । यस्तै लाग्छ मलाई आजभोलि । यस्ता सवै घटनाहरु महत्वपूर्ण हुदैनन । महत्वहीन हुन्छन भन्ने मेरो आशय भजे पक्कै होइन । सवै कुराहरुको महत्व आ -आफ्नै ठाउँमा हुन्छ । तर ती मध्ये केहीलाई हामी बढी महत्व दिन्छौ भने केहीलाई थोरै । मेरो आशय पनि यही हो । त्यसैले त्यस्ता बढी महत्व दिएका घटनाहरुलाई आफूसंगै राख्न हामी लालायित हुन्छौ । साहित्यिक वान्कीहरुमा भर्छौ । र पस्कन्छौ । ठीक आज म पनि केही महिना अघि मात्र भएको काडमाण्डौ यात्रालाई यहाँ तपाईहरु सामु पस्कन गइरहेको छु ।
लामो समय पछि मात्र म यसपटक काठमाण्डौमा केही दिन बस्नेगरी आउन भ्याएँ । स्पेसटाइम दैनिकको बन्द पछि म त्यति लामो समय सम्म वस्ने गरी काठमाण्डौ आउन भ्याएकै थिइन । जहिले पनि हत्तारोले नछोड्ने । कहिले जागीरको हत्तारो त कहिले समाज सेवाको । यस्तो हत्तारोले छाड्दै नछाड्ने । झन त्यसमा घरब्यावहारको हत्तारो पनि मिसिए पछि त झन कुरै छाडौ ।
आज आयो एक दिन वस्यो । भोली वा पर्सी त फर्किहाल्यो । वस्छु भनेर पनि वस्न नपाइने वाध्यता कस्तो । लाग्छ काठमाण्डौ संग घनिष्ठता नहुनुमा यी वाध्यताहरुको पनि केही हात छ । अझ ठूलो हात छ भन्दा पनि फरक नपर्ला । मलाई त यस्तै लाग्छ । यही कारणले गर्दा मेरो काठमाण्डौ संग त्यति घनिष्ठता हुन सकेको हो । यसरी भन्दा पनि गलत नहोला । म आफै काठमाण्डौ संग घनिष्ठ बन्नै चाहिनछु क्यारे । अर्थात काठमाण्डौको धुलो धुवा धुम्रपान र कोलाहलले मलाई कहिलै लोभ्याउन सकेनछ क्यारे ।
काठमाण्डौको धुलो पनि कति खाल खाल्को । महङ्गीको धुलो । राजनीतिको धुलो । अझ खुलेर भन्दा खोक्रो आडक्बरको धुलो । यो तेश्रो धुलो भने चुरोट तथा फ्याक्ट्रीहरुले फालेको धुलो वा धुवा भन्दा पनि सयौ गुना हानिकारक हुँदो रहेछ । सुनेको छु शहरका मानिसहरु ज्यादै व्यस्त हुन्छन रे । एक छिन पनि समय नमिल्ने । गाउँबाट कोही आफन्त भेट्न आउदा पनि उनीहरु भेट दिन सक्दैनन रे । अरु त के कुरा आफ्नै बाबु आउदा पनि भेट्ने समय हुन्न भने पछि अव के लाग्छ र । हुन सक्छ त्यो उनीहरुको वाध्यता हो । नत्र काठमाण्डौको महङ्गीको धुलोबाट कहाँ वच्न सकिन्छ र मुखमा माड पनि लगाउनै पर्यो । त्यसै मुखमा आएर नपस्ने । परिवार पनि धान्नै पर्यो । छोराछोरीलाई पढाउनै पर्यो । नभाको फुस्रो आडम्बर पनि देखाउनै पर्यो । वावा ! आडम्बर पनि कति हुन कति । अनि त्यो सहरको आडम्बरलाई धान्नलाई के ठेका नै लिए जस्तो । त्यसैले म शहर प्रति त्यति झुकाव पनि वढाउदिन ।