स्वाभिमानी नेपाली म झुक्न सकिन
इमान्दारी बिकायेर चुक्न सकिन
सबै सँग मायाँ लाएँ भेद नराखी
निमुखालाई दपेटर भुक्न सकिन
कुर्नु सम्म कुरें मैले स्वच्छ बिहानी
आधा उमेर बितेपछि ढुक्न सकिन
डाँडा काटी कहाँ कहाँ पुग्नु परे नि
पारदर्शी मात्रै बनेँ लुक्न सकिन
स्वाभिमानी नेपाली म झुक्न सकिन
इमान्दारी बिकायेर चुक्न सकिन
सबै सँग मायाँ लाएँ भेद नराखी
निमुखालाई दपेटर भुक्न सकिन
कुर्नु सम्म कुरें मैले स्वच्छ बिहानी
आधा उमेर बितेपछि ढुक्न सकिन
डाँडा काटी कहाँ कहाँ पुग्नु परे नि
पारदर्शी मात्रै बनेँ लुक्न सकिन
किन गज़ल लेख्नु पर्यो सारिदिन्छु म त
सही नाम र ठेगानालाई मारिदिन्छु म त
थाहा नभे आफ्नै हुन्छ पाए ठिक्क पार्दै
गोहीका झैँ स्वार्थी आँसु झारिदिन्छु म त
बधाई र प्रशंशा ले भरिएलान भित्तो
यथार्थ लाई बैतरणी तारिदिन्छु म त
गज़लकार भएँ भन्दै साथीसंगाती लाई
धाक धक्कुसंगै मख्ख पारिदिन्छु म त
किन होला मष्तिष्क नै थाकेको छ आजभोलि
सन्तापले भित्र भित्रै पाकेको छ आजभोलि
अनगिन्ति सम्झनालाई दवाउँदै सुत्दा पनि
कसले कसले सपनीमा डाकेको छ आजभोलि
बनाउँदै सबै कुरा प्रतिकूल र उल्टो मात्रै
समयले खाडलमा जाकेको छ आजभोलि
तुवालो र कुहिरो झैँ फैलिएर आकांक्षालाई
कालो कालो बादलुले ढाकेको छ आजभोलि
डर र त्रासले सताउँदै रात दिन सधैँ भरि
नियतिले तीखो वाण ताकेको छ आजभोलि
सोझासिधा निमुखाको आश टुट्नु हुन्न
थिचिएर निसासिंदै सास टुट्नु हुन्न
संसारमा प्यारो हुन्छ आफ्नो घर वार
अनाथ र अशक्तको बास टुट्नु हुन्न
सानालाई नि हुनै पर्छ बाँच्ने अधिकार
भोका नाङ्गा गरीवको गाँस टुट्नु हुन्न
हेरविचारको खाँचो पर्छ उमेर ढल्के पछि
बुढ्यौलीमा सन्ततिको पास टुट्नु हुन्न
हाम्रो देशका नेतालाई लड्न पाए भैगो
जसरी नि कुर्सी माथि अड्न पाए भैगो
काग जति कराउंछ पिना सुक्दै जान्छ
महँगा र राम्रा वाहन चड्न पाए भैगो
जनताको के को वास्ता जे भएता पनि
दिन दिनै नगद मौज्दात बड्न पाए भैगो
बनाएर आठ दस ओटा गगनचुम्बी घर
चारै तिर चिल्ला पत्थर जड्न पाए भैगो
यति छिटै जिन्दगीका पाटाहरु फेरिएछन
थाहै नपाइ गन्तव्यका बाटाहरु फेरिएछन
हृदयलाई बिच्छ्याएर माया प्रेम सजाएको
स्नेहालु त्यो आँगनीका माटाहरु फेरिएछन
किट पत्थर फुटाएर बनाएको बगैँचालाई
चट्ट पारी सिङ्गारेका साटाहरु फेरिएछन
थोप्ला थोप्ली बटुलेर दिनानुदिन बहाएको
रगत तथा पसिनाका टाटाहरु फेरिएछन
दाल पनि गल्नेछैन दैव नलागुन्जेल
कालको बश चल्नेछैन दैव नलागुन्जेल
जीवनमा खुसियाली,सुखसयल बाहेक
दु:खै दु:ख फल्नेछैन दैव नलागुन्जेल
थिचिहाल्ला जस्तोगरी पूरै चर्किएको
थोत्रो घरनि ढल्नेछैन दैव नलागुन्जेल
जहिले पनि वियोगले भतभती पोल्दै
प्यारो मुटु जल्नेछैन दैव नलागुन्जेल
मर्नु सम्म मरिसक्यो, अब मर्ने छैन
पर्नु सम्म परिसक्यो, अब पर्ने छैन
अभाव र बेदनामा, पिल्सिएर आँशु
झर्नु सम्म झरिसक्यो, अब झर्ने छैन
वारी पारी जता ततै, हण्डर र चोट
छर्नु सम्म छरिसक्यो, अब छर्ने छैन
प्रकृतिले ठग्ने कहिले, दैव पनि ठग्ने
गर्नु सम्म गरिसक्यो, अब गर्ने छैन
धेरै तल खस्नुपर्ला, संसारलाई ढाँट्यौ किन
दलदलेमा फस्नुपर्ला, नकामलाई आँट्यौ किन
आफ़्ले खन्या खाडलमा, आँफै परे पछि
रहरलाई कस्नुपर्ला, यस्तो डोरी बाट्यौ किन
मित्रतालाई लत्याएर, लाग्दा अर्कै बाटो
फेरी सङ्गै बस्नुपर्ला, मायाँ प्रीति साट्यौ किन
वास्तविकता लुकाएर असत्यलाई रोज्दा
खरानी नै घस्नुपर्ला, आफ्नै बुद्धि चाट्यौ किन
स्वर्ग जस्तो संसारमा, सीता जस्ती नारी
सुकोमल भावनामा, हाँस्थ्यो घर बारी
सुषमा को ज्योति आउने सधैँ मिर्मिरेमा
प्रभातिले नौलो किरण छर्थ्यो वारी पारी
ढकमक्क कुसुमले खुसि छायो दिलमा
हाँसी खुसि फैलिएका वन पाखा घारी
पूजा, पाठ, अर्चना र सद्भावना बाँड्दै
सद्प्रेमले भक्तिभाव हुन्थे मन कारी
सन्तोषले रमाउथ्यौँ सुख, शान्ति, घरमा
आपसमा माया प्रेम सबै सदा चारी