आज फेरि एउटा मुटु, टुक्रिएर रोएको छ
जिन्दगीको खुसी हाँसो,निख्रिएर रोएको छ ll
कसको आँखा लागेर हो, भताभुङ्ग भयो जम्मै
प्वालै प्वाल पर्ने गरी उध्रिएर रोएको छ ll
प्रतिकूल भो वातावरण, जति मरिमेट्दा पनि
बारम्बारै परिस्थिति, बिग्रिएर रोएको छ ll
पाएको छ सधैँ भरि, हण्डर अनि चोटहरू
अनगिन्ति आपत विपद, बज्रिएर रोएको छ ll
बाध्यता मा बाँच्नु पर्दा स्वाभिमानै गुम्दो रैछ
सगरमाथा जस्तो शिर, लत्रिएर रोएको छ ll