वि.सं. २०६७ कात्तिक ४ गते झमक घिमिरेको घर पुग्दा बिहानको साढे दस बजेको थियो । धनकुटा ३ कचिडेस्थित उनको घर मलाई आज अरू दिनभन्दा शान्त स्निग्ध र सफा लागिरहेको थियो । म यो चौथो पटक झमकको घर जाँदैछु । आज म उनको घर पुगिने सल्लेरीको वनको बाटो नगएर उनकै घरभन्दा झन्नै एक किलोमिटर माथिको गाडी स्ट्यान्डमा हिले वसन्तपुर जाने माइक्रो बसबाट ओरालो झरेर गएको थिएँ । कटेरा मास्तिरको बाटो देखिनै सफा पारेर बढारिएको थियो । ढुङ्गा छापेको आँगनको एक छेऊमा चकटी ओछ्याएर झमक र उनकी कान्छीबहिनी अनामिका बसिरहेका थिए ।
मैले उनलाई देख्ने वित्तिकै "नमस्कार" भनेँ । उनले मलाई आदरपूर्वक हेरेर अलिकति मुस्कुराइन् । तत्कालै कान्छीबहिनी उठेर उनको कोठामा गइन् र एउटा कापी, डटपेन र झमकको चस्मा ल्याइदिइन् । तबसम्म मैले "धनकुटामा धेरै जाडो भइसकेको छ कि क्या हो ? घाम तापेर वस्नु भएको रहेछ ? " भनेर प्रश्न गरिसकेको थिएँ । उनले खुट्टाले चस्मा लगाइन्, खुट्टाले नै डटपेन च्यापिन् र खुट्टैले कापीका पाना पल्टाएर "नमस्कार" लेखिन् र फेरि "धनकुटामा जाडो हुन थालिसकेको छ । बिहान बेलुका निकै जाडो हुन्छ ।" लेखिन् ।
मलाई अनामिकाले झमक भएकै ठाउँ आँगनमा कुर्सी ल्याइदिइन् र मैले उनको चर्चित कृति "जीवन काँडा कि फूल" को कुरा उठाएँ । "तपाईंको त्यो चर्चित कृति दुईपटक पढिसकेँ, त्यो कृतिमा मैले ग्रहण गर्ने कुरालाई साधा धर्कोले रेखाङ्कन गरेको छु । तपाईंका लेखाइसँग असहमत भएका अनुच्छेद, वाक्य वा शब्दलाई प्रश्नवाचक चिन्ह दिएर रेखाङ्कन गरेको छु भनेर सुनाएँ र मैले रेखाङ्कन गरेका ठाउँ देखाएँ ।