साँझ,
नीलो मोतिको प्यालाका कम्मरमा
आवद्ध हुन्छन् सुनका सिक्रीहरू
छातिमा सजिएका हुन्छन हिराका कलात्मक टुक्राहरू
भरिएको हुन्छ त्यसैमा बेजोड स्वादिलो स्थानीय मदिरा
यसरी समुस्कान स्वागतमा उभिन्छे
एउटी छल्किन तयार प्याला
हरेक प्यासीसाँझका आवेगहरूनेर !
विहान,
तिर्थयात्रीको पदचापले ब्यूँझँदा झसमिसेमा
वरिपरि असरल्ल हुन्छन्
वेवारिस जुठा मोतिका प्यालाहरू
म स्वयं उठाउन सक्तिन
जुठा मोतिका प्यालाहरूमा बाँकी
सस्तो स्थानीय मदिराको स्वादिलो थेग्रो
हठात्, छोडेर ती अनमोल प्यालाहरू नै
पावन जलको नाममा
अलिकति कालो बागमती प्यूछु
पवित्र भनिएको सस्तो काँचको प्यालामा