ऊ सानै देखि सुन्दर चित्र बनाउन अभ्यस्त थियो। उसले पढ्न थाल्दा अगाडी आइ परेका रामायण, महाभारत र गीता पढ्यो। उसले गरुड पुराण र भागवत पुराण सुन्यो। अनि उसले थुप्रै पौराणीक पात्रहरुको चित्र कोर्यो, देवी, महाकाली, सरस्वती, सीता, राधा, लक्ष्मी आदि आदि।
उसको उमेरसँगै रुचीहरु फेरिए। उसले भानुभक्त पढ्यो, लेखनाथ पढ्यो, देवकोटा पढ्यो, भूपी पढ्यो र पारीतात पढ्यो। उसले आमा पढ्यो र युवाहरुको गीता पनि पढ्यो। उसको कलाले नौलो मोड लियो। उसका चित्रकलामा पुन देवीका आकृति देखापरे तर मुहारमा भने आमाको छवि थियो। सयौं सरस्वतीका चित्रहरु पुन कोर्यो। ती चित्रमा दिदीका छविहरु उतार्यो। उसले कोरेका राधा र सीताका चित्रहरुमा उसका प्रेमीका आकृति लेख्यो। उसका चित्रहरुमा नौलो आयाम थपियो। ख्याति चुलिदै गयो। उसले मान सम्मानहरु पनि पाउँदै गयो। उसका कलाहरुले ठूलो मूल्य पाउन थाल्यो।