मैले ज्ञानेन्द्र शाह राजा हुँदा दुई पटक भेट्ने मौका पाएँ । एक पटक बेलायतबाट आफ्नो उपचार गरी नेपाल फर्कने क्रममा दुबईमा ट्रान्जिट हुदै आएका थिए । दुबईको डेरा स्थित इन्टर कन्टिनेन्टलको होटलको सातौँ तलामा बसेका रहेछन् । नेपाली समाज यूएईका तात्कालिक सभापति चन्द्रप्रसाद सापकोटाले एउटा बिन्ती-पत्र राजाको हातमा चढाएर नेपालीहरूको समस्याको बारेमा जानकारी गराउने भन्दै बिन्ती-पत्र तयार गर्न भन्नुभयो । मैले कागजमा जानी नजानी खेश्रा तयार गरें । वीच वीच प्रसंग मिलाउँदै सरकार ! सरकार ! भन्ने शब्द पनि हालें । जे पी सापकोटाले त्यसलाई शुद्धाशुद्धि गर्दै टाइप गरे । दुई जनाले बिन्ती-पत्रको स्वरुप तयार गर्यौ । राजालाई भेट्न जानेमा केही समाजका गन्यमान्य मानिसहरूको उपस्थिति थियो । त्यति बेला यूएईमा दूताबास थिएन । साउदी अरबले सबै कूटनीतिक सेवाहरू हेर्ने गर्थ्यो । साउदी अरबका कार्यबाहक राजदूत रमेश खनाल आउनु भएको थियो । राजालाई भेट्ने ! अलिक टिपटप बनेर जानु पर्ने कुरा उठ्यो । मसँग औपचारिक पोशाक पनि थिएन, सुट पनि थिएन, नेपालबाट नलिकन आएको थिएँ । तुरुन्तै किन्ने पैसा पनि थिएन । जे त होला जानु पर्यो भनेर कसिएँ । रातो कोठा भएको अलिक ठूलो साइजको सर्ट थियो त्यही लगाएँ र टाई कसें । जे पी जीले उनको बिहेमा सिलाएको सुट रहेछ छोटो लिंडे लिंडे खालको, त्यही लगाए टाई र टोपी सहित ।
घडी हेर्दै समयमा नै होटलमा पुगियो । होटलमा सुरक्षा व्यवस्था निकै कडा थियो । हामीलाई होटलको लबीबाट एक जना भारतीय महिलाले माथि सातौँ तलाको हलमा लिएर गइन् । हामी सबै जना त्यहाँ जम्मा भएपछि सादा बर्दीमा आएका केही सिआईडीहरूले कोठा खान तलासी गरे । एउटा मिसिनबाट हाम्रो शरीर जाँच गरे । हामी सबै गोलो घेरा लागेर उभिएका थियौ । रमेश खनालजी आएर सबैलाई भन्नुभयो, "कसैले पनि महाराजधिराजसँग हात मिलाउने कोशिस नगर्नु होला । सरकारले हात मिलाई बक्सिदैन ।"