विकासको सिद्धान्तअनुसार कुनै जाति ओरालो लागिरहेछन्, कोही उकालो लागिरहेछन् । कसैलाई खिइनु छ कसैलाई फुल्नु र फैलनु छ । व्यासजीको सिंह आजकलको भारत वर्षमा गर्जन गर्दैन। बाघको हुकुम चलिरहेछ । त्यस्तै भाषाको देशमा लबजको दशा हुन्छ। कोही कोही शब्दहरू दुब्लापातला भएका छन्, तिनीहरूको प्राचीन महत्त्व उडेको छ ज्यादा पुरानो टकमा खिया लाग्दछ । ‘पण्डित’ र ‘गुरु’ भन्ने लबजमा केही फिक्कापन चढ्न लागेको छ । त्यस्तै ‘भलादमी’ भन्ने शब्दमा पनि अर्थको यति अपभ्रंश भएको छ कि भलादमीपनले भडक र पोसाकसँग नाता जोडिसक्यों भलादमीपन हृदयबाट बाहिर निस्केर शरीरउपर विज्ञापन छाप्न लाग्यो। खाँडी र कोराले अब भलादमी बन्न सक्तैनन्, घरबुने भलादमीलाई पनि यस युगले बागमतीमा सेलाइसक्यो । चरित्रका भलादमी अतीतका अँध्यारा कोठरीमा छन्, रङ्ग र रेसमका भलादमी काठमाडौंका गल्लीमा खुसबू उडाइरहेछन् । जमाना रङ्ग बदलिन्छ ।
नोटको भाउ बढेको भए तापनि आजकल भलादमीपन सस्तो मौलमा पाइन्छ । भलादमीपनलाई सूचीकार र मारवाडीले बिक्री गरिरहेछन्। तिमी भलादमी बन्न चाहन्छौ भने सीधासाधा मानिसको कोरापनलाई दर्जीकहाँ गएर काटछाँट गरिमाग दुई-चार रुपियाँ बढाइदेऊ तब तिमी कुदिएको पानीदार हिरा बन्दछौ। छाँट मिलेको कोट पहिरेर, एक छरितो बढी घुमाएर, सडकमा टल्कने जुत्ताको चुरुमचुरुम आवाजमा फुर्तिलो कदम बढाऊ तब गल्लीको कुकुरले पनि तिमीलाई चिन्दछ । तिम्रो भलादमीपन स्वीकार गरेर तिमीउपर भुवन आउँदैन । चोरीको शहकाले सम्बोधन गर्नु भलादमीको अपमान हो भन्ने उसले पनि जानेको छ । सफलताजस्तो हौसला दिने केही छैन । तिमी छन् फुर्तिलो कदम बढाउँछौ । समाजमा तिम्रो भलादमीपनलाई ‘हजुर’ ले गजुर लगाउँछ । जति काटछाँट गरिएको हुन्छ, उति फुर्ती लम्बिएको हुन्छ । त्यसमा चस्मा चढायी भने त बिचरो दुनियाँ तिम्रा नजरको के सामना गरोस् ।