रोई रात, किटेर दन्त, पगली, झाँक्रो फिँजारी, झरी,
आत्मा तुल्य स्वदेशकी, दुःख परी, क्रन्दी, पुकारा गरी,
धच्की द्धार समस्त न्यायमुखरी घुँक्की, हुरी भै उडी
आयो क्रान्तिपछाडि शान्तिसरिको यौटा बिहानी घडी !
दुष्ट स्वप्न विनष्ट भो, तिमिर गो, गो काठिने शासन !
धोएको छ हवा, तथापि धनको यो व्योममा आसन !
टुक्रा धूर्त भए, वरिपरि रहे, चाँदी बनी फूलिए !
चूली–चञ्चल–हात बाल रविको पीछा गरी डम्मिए !
यौटा घोष भयो सुवर्ण–स्वरको उत्तुङ्ग है श्रृङ्गमा !
तान्थी जागृति आँग भूमितलमा, न्यानो पसी अङ्गमा !
बोले पङ्ख उडेर अल्प हुन गो आनन्द सारा तर !
छोप्यो बादलले, चिसो जगत भो, आगो निभ्यो सुन्दर !
रोगी हुन्छ बिहान, दुर्बल तथा रुन्चे, निकम्बा अब !