गरीब भन्छौ? सुखको म झैं धनी
मिल्दैन संसारभरी कतै पनि।
विलासको लालस-दास छैनँ म
मीठो छ मेरो रसिलो परिश्रम।
प्रयासको पत्थरमा नदीसरि
बहन्छु हाँसी म तरङ्गले भरी।
म पोखरी झैं उहि ठाउँ जम्दिनँ
छ शुद्ध यो जीवनको सबै कण।
निधार मेरो पसिना-जडाउ छ
मोती तिनैको अनमोल भाउ छ।
छ शान्तिको सुन्दर दीप वासमा
पीयूषको स्वाद छ गाँसगाँसमा।
छ भोक मीठो, रसिलो प्यास
छ अन्तमा व्यञ्जनको सुवास।
छ थोर आवश्यकता पुगेपछि
म बस्छु संसार नयाँ नयाँ रची।