अनलशिखाझैं कलिली सुन्दर !
मधु–ज्वाला !
यो दृगपथमा पक्राउ बसे सरि,
भन तिमी को ? ए ! बाला !
मधुर रहस्यको मुसमुस ग्रन्थि,
रेशमी–तहले बाँधी,
वाणी तिरस्कारिणी ! बोल्छयौ
सुगन्धका के शव्द–कणीहरु
सम्मोहनले साधी ?
आत्मप्रकाशमा नै के भन
तिम्रो ब्रीडा–लाली ?
संसारी यो स्तरमा उत्रन
शरमिन्छयौ कि ?
सुकुमारी !
किनकि छ तिम्रा भावहरुको
अतिशय मृदुल, अलौकिक, मसिनो,
जाली ?