कमजोरी हुन् दुःखकी बहिनी,
श्रमकी छोरी !
दिनभर, दिनभर मन्थन गर्दै मानव स्नायु
फींज सोहोरी,
विधिले रचे रे कमजोरी !
इन्द्रधनुषको रङ्ग क्यै जोरी !
साँवली छन्, छैनन् गोरी !
तैपनि छन् फेनील हुरी !
गुलाफ बागमा यस मासुको,
गोधूलिमा, मूल परीकन,
जन्मिन् मोरी !
अलसाइँले गोद लिइन् तब,
गाला जोरी !
क्षुधा र तृष्णासँग ती खेलिन्
भग्न मनोरथहरुका वनमा ।
मध्यरातमा बैंसे भइछन्
प्रथम श्रापकी उम्दा छोरी ।
कविसँग जिस्किन्, तिर्छी हानी ।
कस्ती उत्ताउली ती मोरी !
आँखा खोली अनगिन कोटी,
ढल्की बादल भुवामा लेटी,
कविता गर्न बसिथिन् रजनी
कागतजस्तो फिंजाई अवनी !
उनकी प्रतिभा मुस्किरहिथिन् !
केही टटोली
चट्ट उँगी छन् ! मुखी ढाकी छन् !
कालो मसी सब ख्वात्तै पोखी !
थाकी छन् ती नरम सिरकमा
छाती जोरी !
यस्तो गर्छिन् बराबर मोरी !
कमजोरी, ती श्रमकी छोरी !