क.
पलक निमीलित आज निशि,
प्रार्थना छन् सलिलदृशी !
ख.
दुइटा उडुकण ढुल्कन्छन्
बादलपरेला छिचली !
ग.
निश्चल, निस्पन्द !
श्वासबन्द !
घ.
क्षणकन पार्छिन् अनन्त–दर्पण !
अर्पण !
क.
पलक निमीलित आज निशि,
प्रार्थना छन् सलिलदृशी !
ख.
दुइटा उडुकण ढुल्कन्छन्
बादलपरेला छिचली !
ग.
निश्चल, निस्पन्द !
श्वासबन्द !
घ.
क्षणकन पार्छिन् अनन्त–दर्पण !
अर्पण !
क.
“हिम–स्तनी ए ! हिउँमा टेकी,
किन आ’की ?”
“दिवस–ज्वरको ज्वलनको आगो
निभा’की ! ”
ख.
“सुधावदिनी ह् ! स्वर्गकी चरी, किन
हँसिली वदन ?”
“प्रेमी जोडीहरुको देख्दछु,
मधुर मिलन ! ”
ग.
“यति मीठोसँग पृथिवीमा किन मुसका’की ?”
“हरिया हृदय, अधरमा फुस्किन,
छु सिका’की !”
माछापुच्छे! 'हिमशिखरको बादशा' पोखराली !
देखेँ तिम्रै वरपर सबै पश्चिमा राज्य खालि !
डाँडाकाडाँ वन नद दरी सम्थली औ कराली
साराका छौ प्रभु सरि तिमी दिव्य श्रीपेच डाली !
राजा ! तिम्रो बगल महिषी अन्नपूर्णा हिमाल
नीला गादी उपर डटिँदा हुन्छ शोभा कमाल !
राजारानी ! हृदय कविको तृप्त कैल्यै हुँदैन !
नेपालीले हुकुम दुईको छातिले बिर्सिदैन !
हाम्रो राष्ट्र प्रकृति रचना छन् प्रधानै हिमाल !
चूली राजा बहुविध जहाँ सत्यका नीतिपाल !
सेतो छापा सकल दिलमा पर्छ आदेश सार !
हाम्रै हाम्रै प्रकृतिसँगमा मन्त्र मीठो बहार !
सान्दर्यैको चलपल हुँदो पोखरीझैँ छ देश !
थुम्काथुम्की सरस हरिया राखिए बेस बेस !
माछामाछी सदृश दुनियाँ क्यै सुनौला रँगिन !
सेतो माछो प्रमुख पुछेर, राज गर्दो छ मीन !
क.
प्राची सुत अति प्रतिभ प्रतापी दिव्य दिवसको अब अवसान !
आलोक प्रवच्चित आशामुख छन् सविषाद गवाही गाढा !
किरण दृष्ण ती तुहिन महीधर मौन खडा छन् मुख म्लान !
रुदित वाग्मती–जल छटपटले विलपी बग्दछ टाढा !
ख.
निशिचिर–शान्ति–पिपासा–पीडित थकित विहङ्गम उड्छ उदास !
दूरवर्ती अविदित घरतिर, भ्रमण बिसाउन व्योमपथी !
उड्डीन दिवाको अनुचर आत्मा, अहार्य नियमको यौटा दास !
भ्रमण–बिसाउनी आर्यघाटमा मै पनि घोरिरहेछु बसी !
ग.
बादलको त्यो वाष्पिल जीवन पर्वतमा जो अवलम्बित
अनलाहुत भएर खरानी–रङ्गमा परिणत, हुन्छ विलीन !
परिवर्तनको करले अगोचर, रुपरागले चिररञ्जित
दृश्यपटमा हुन्छ, मिटाई सजीवमा अब ! जगत् मलिन !
रोई रात, किटेर दन्त, पगली, झाँक्रो फिँजारी, झरी,
आत्मा तुल्य स्वदेशकी, दुःख परी, क्रन्दी, पुकारा गरी,
धच्की द्धार समस्त न्यायमुखरी घुँक्की, हुरी भै उडी
आयो क्रान्तिपछाडि शान्तिसरिको यौटा बिहानी घडी !
दुष्ट स्वप्न विनष्ट भो, तिमिर गो, गो काठिने शासन !
धोएको छ हवा, तथापि धनको यो व्योममा आसन !
टुक्रा धूर्त भए, वरिपरि रहे, चाँदी बनी फूलिए !
चूली–चञ्चल–हात बाल रविको पीछा गरी डम्मिए !
यौटा घोष भयो सुवर्ण–स्वरको उत्तुङ्ग है श्रृङ्गमा !
तान्थी जागृति आँग भूमितलमा, न्यानो पसी अङ्गमा !
बोले पङ्ख उडेर अल्प हुन गो आनन्द सारा तर !
छोप्यो बादलले, चिसो जगत भो, आगो निभ्यो सुन्दर !
रोगी हुन्छ बिहान, दुर्बल तथा रुन्चे, निकम्बा अब !
क.
क्या खुल्यो बिहान आज !
नीलिमाले फाली
सकल घुम्टो जाली !
ख.
वाल्मीकिको हृदयतुल्य व्योम निर्मलायो !
अभिराम क्या यो !
रात प्रातः आयो !
क्रौञ्चरुधिर थोर बेर नभमा छिर्बिरायो !
दिविमा जन्म ली दयाले !
करुण छन्द भै सुवर्ण ज्योति–लहर आयो !
कुँज्छन् हृदय डाली !
दर्शनभिलाषीलाई दिव्य देव प्रकट हुन्छन्
उक्ले अंशुमाली !
अहा ! म लहरा भए मनहरा हरा भू जरा
चुसी रस फुलाउँथे कुसुम वासका सुन्दर,
रमी हृदय आउँथे चिरबिराउँदा स्वर्चरा,
स्वदेश रस बन्न गो तर कवित्व यो वर्वर !