सेलायो उनको चिता र दिनको ज्वाला निभ्यो पश्चिम
यो छाया-छविको डुब्यो दिन डुब्यो रङ्गीन त्यो जीवन
थोत्रो देवल शून्यसान दुनियाँ सारा अँध्यारोतिर
जाऊ हे सखि ! साँझको शिखरको पारी उज्यालोतिर
बत्ती यो घरबाट बल्छ अहिले सङ्घारमा दख्खिन
बाल्थिन् यै घरभित्र बत्ति घरकी लक्ष्मी उनी क्वै दिन
हे वैवस्वत ! बत्ति यो शहरमा तिम्रो लगी जोडिद्यौ
उल्टीद्यौ सब अन्धकार उनको बाटो तिमी छोडिद्यौ
छायारुप लिएर शून्य घरमा आई नच्याऊ अब
हाम्रा आँसु नहेर निष्ठुर बनी माया चुँडाल्द्यौ सब
हल्का प्वाँख उचाल झार भुइँमै धूलो र मैलो जित
जाऊ सुन्दर शान्त देश पुतली ! हे ज्योतिकी सन्तति !
लाऊ अाजुलि तीन बार जलको खाएर जाऊ सखी !
यौटा पुूल चुँडेर दिन्छु दिलको लाएर जाउः सखी !
आँसू आज पुछेर दुःख सब यो बिसे्रर जाऊ सखी !
मान्छेको घर अन्धकार छ भनी सम्झेर जाऊ सखी !