अँध्यारो छ जताततै प्रकाश छर्न सकिएन
राम्रो त जून लाग्छ बसाइँ सर्न सकिएन
बगैँचा छ नयनमै हरियाली वरिपरि
बहलिँदै त्यतातिर चर्न पनि सकिएन
नदीपारि माया गयो एक्ली भएँ नदीवारि
धारदेखि डराएर पारि तर्न सकिएन
धेरै गरे बिन्तीभाउ गाली पनि अलिअलि
जे लेखेथ्यो विधाताले स्वयं हर्न सकिएन
आँखा भयो भरीभरी मन भयो छियाछिया
सम्झी उसलाई सँगसँगै मर्न पनि सकिएन