काठमाडौंबासीलाई रामरी सिध्याउन सकिन्छ भनेर चार वर्ष पहिले बर्डफ्लु पस्न खोजेको थियो । खुला ट्रकमा बसेर आएका सय थान बर्ड फ्लुहरू ढुङ्गाअड्डाबाट ओरालो लाग्दानलाग्दै हिक्हिक् गर्न थाले । कलङ्कीको जाम र बल्खु खोलाबाट उठेको दुर्गन्धको निश्वासले पचास थान फ्लुलाई ठहरै पार्यो भने बाँकी पचास थान फ्लु पनि लल्याकलुलुक भैदिए ।
पचासै भए पनि काठमाडौंको अस्तव्यस्ततामा राज गर्न पाइन्छ भन्ने सोचेर बर्ड फ्लु आफूले चढेको ट्रकमै बसेर पूर्वतिर लागे । विष्णुमती नदीको पुलमा ट्रकको अघिल्लो पाङ्ग्रो परेको मात्रै के थियो सबै बर्डफ्लुहरू हप्याक्हप्याक् गर्दै मर्न थाले ।
मेक्सिकोमा आतङ्कराज मच्चाएपछि स्वाइनफ्लुले पनि काठमाडौंमाथि चौतर्फी हमला गर्ने निर्णय गर्यो । बर्डफ्लुको मृत्युकथा सुनेका स्वाइनफ्लुहरूले आक्रमणको क्षेत्र र सङ्ख्यालाई धेरै फराकिलो पार्नुपर्ने सल्लाह गरेर पाँच सय स्वाइनफ्लु काठमाडौंमा आक्रमण गर्ने गरी सडक र आकास दुबै क्षेत्रमा छरिए ।