‘कुकुरी काँ......
कुकुरी काँ.....’
पखेटा फट्कार्दै खोरको भालेले उज्यालोको सन्देश सुनायो ।
मस्तसँग निदाइरहेकी व्यूझिइन । आँखा मिच्दै उठेर हेर्दा मने अँझै निदाइरहेको थियो ।
‘भाइ उठ उज्यालो भइसक्यो, पढनुपर्छ’ उनले घचघचाउदै भनिन ।
दुवै जना उठेर बाहिर निस्किए । विहानीको घाम ताप्दै रुखमा चराहरू चिरविर गदै नाचिरहेका थिए ।
दुवै दिदी भाइ पालै पालो शौचालय गए । दाँत माझेर हातमुख धोएर बाहिर पीढिमा बसेर पढ्न थाले । उनीहरूको आवाज सुनेपछि नजिकैको बाख्राको खोरभित्र मुने कराउन थाल्यो । ‘लौ अब यसलाई खेल्न साथी चाहियो’ भन्दै मुनाका वुवा सन्तले खोरको ढोका खोलिदिए । मुनी कान ठाडो पार्दै खुसीले वुरुक्क वुरुक्क उफ्रदै मने र मुना भए ठाउँमा पुग्यो । दुवैजनाले उसलाई माया गरेर काखमा वसाए । आफूले खादै गरेको मकै खान दिए । दिदी भाइले घरमा पालेका सबै जनावरलाई निकै माया गर्थे । खाना खाएर उठ्ने वेलामा अलिअलि भात कुखुरा, बाख्रा र भैसीलाई पनि खुवाउँथे । माया पाएर घरका बाख्रा, कुखुराहरू उनीहरूसँग झ्याम्मिन्थे ।
मनेका वुवा साधारण सरकारी कर्मचारी हुन । आमा सुन्तली गृहिणी हुन । फुर्सदमा दुवैले वारीमा खेती पाति गर्दथिए । खेती गर्दा मल चाहिने भएकोले घरमा बाख्रा, गाईभैसी, कुखुरा पालेका थिए ।
घरको वाख्रीले दुई वटा पाठापाठी पाएकी थिई । तर एउटा पाठी जन्मेको एक हप्तामै जाडोले कठ्याग्रिएर मरेकी थिई । पाठो पनि विरामी परेको थियो । तर ओखतीमुलो गरेर वचाएका थिए । माया र जतन गरेर वचाएकोले पाठो घरमा सबैको प्यारो थियो । ‘मुनी मुनी आईजा’ भनेर वोलाएपछि जताभए पनि दगुर्दै आईपुग्थ्यो । मुनी सानैदेखि एक्लो भएकोले उसका साथीभाइ नै मने र मुना थिए । उनीहरूवीच घनिष्ठ प्रेम थियो । दिदी भाइलाई नदेख्दा मुनी ‘म्या म्या’ गरेर कराउँथ्यो । उनीहरू पनि मुनिलाई छाडेर हिड्नुपर्दा दुःखी हुन्थे । जतापुगे पनि घर आउने वित्तिकै मुनेलाई अंगालो हालेर सुमुमाउँथे ।