निलो आकाशमा टांगिएको त्यो चर्को घामलाई छल्दै प्रकृतिले एक झर्को वर्षाद गरिहाल्यो। अनि पो देख्न पाईयो त प्रकृतिको त्यो अनुपम दृश्य। भर्खरै जन्मिएको सानो बालक झै लाग्ने कोमल घामले राहत दिलाएको थियो गर्मीको प्रसबलाई। चिसो चिसो हावा पनि बयली खेल्दै कहिले त्यो अग्लो बडेमानको टावरलाई चुम्दथ्यो त कहिले बैशंमै ईज्जत गुमाएका तरुणी जस्तै देखिने खजुरका बिरक्त लाग्दा रुखका हाँङ्गाहरु हल्लाउन पुग्थ्यो। छुदाँ पनि दाग लाग्ला झै लाग्ने ति टलक्क टल्किएका नागबेली सडक-राउण्ड बोट वारी-परि मौलाएका दुबोहरु र फूलका बेर्नाहरु पनि आनन्दको सास फेर्दै गरे झैं देखिन्थे । म यी दृश्यहरु नियाल्दै कारमा रफ्तारका साथ मन भरि कुरा खेलाउदै आफ्नो गन्तब्य तिर लम्किंदैथें। सधै झै ल्यापटप ब्यागबाट डायरी निकालेर केहि कोर्ने विचारले नघोत्लिएको पनि हैन यद्दपी हातमा भएको मोबाईलमा आफ्नो फेसबुक स्टाटस अपडेट र साथीभाईको गतिबिधि बुझ्ने क्रम भने यथावत नै थियो। मैले यात्राको गति लिएको ठाउँबाट करिब २२ किलोमिटरको दुरीमा पुगेर कार रोकियो। केरला(इन्डियन) मुलका ड्राइभरले –“भाइ साप नेसनल आगए'” को आवाज संगै म झस्किएं।२० कतारी रियल नै चाहिन्छ भन्ने उनको मागलाई मैले शिरोपर गरें र” ओके थ्यांङ्कस “ भन्दै थुपुक्क त्यति नै रकम उनको हातमा थमाईदिई लागें गन्तव्य भेट्न। मेरो यात्राले अझै गन्तव्य भेटिनसकेकोले अझै अघि केहि दुरी पर तिर लागें। यात्राको क्रममा केहि हदसम्म भएपनि सहुलियत पाउन सार्बजनिक (यातायात) बस कार्ड बनाउनु उपयुक्त भएता पनि सधै यात्रा गर्न नपर्ने र कहिलेकाँही गर्नै परे ट्याक्सीकै सहारा लिने अभ्यास म मा विद्दमान छ।