नेपाली इतिहासको कठिन मोडहरुलाई पार गर्दै नेपालको सहकारी अभियानले एउटा स्वर्णयुगलाई छर्लङ्ग मार्दै ५५ औ बर्षमा पार गरी सकेको छ । इतिहासको यस कालखण्डमा सहकारी अभियानले अनेकौं आरोह अवरोहहरुलाई पार गर्दै समग्र देशको सामाजिक तथा आर्थिक रुपान्तरणका लागी एक महत्वपूर्ण भूमिका निवार्ह गदै गन्तव्यतर्फ उन्मुख हुन सफल भएको छ । नेपाली परिवेशमा सहकारीको इतिहासलाई नियालेर हेर्दा वि.स २०११ सालको भिषण वर्षा र बाढी पहिरोबाट उत्पन्न संकट मोचनका लागि चित्तवनका युवाहरुको सक्रियतामा वि.स २०१३ सालबाट सहकारी आन्दोलनको सुरुवात भएको पाईन्छ । वि.स २०१३ साल चैत्र २० गते चित्तवन बखानपुरका बखान बहादुर सिंह गुरुङ्गको संरुक्षणमा स्थापना भएको बखानपूर बचत ऋण समितिको स्थापनाबाट सुरु भएको सहकारी अभियानको जालो आज नेपाल अधिराज्य भर फैलिसकेको छ ।
सहकारीको माध्यमबाट नै समाजका विपन्न, अतिविपन्न वर्गका मानिसहरु लगायत किसान, मजदुर, ब्यावसायी, महिला वर्ग तथा समुदायलाई संगठित एवं एकत्रित गरी समाजमा छरीएर रहेका स–साना सिप र पूँजीहरुलाई संकलन गरी परिचालन गरेको छ । दिन प्रतिदिन नेपालमा सहकारी संस्थाका विकासका जराहरु शहरी क्षेत्रमा मात्र नभई ग्रामिण भेगका दुरदारासम्म फैलिन थालि सकेको छ । हालसम्म नेपाल भरीमा करीब २२ भन्दा बढी सहकारी संस्थाहरु स्थापना भई संचालनमा आएका छन । सहकारी क्षेत्रबाट करीब ५० हजार मानिसहरुले प्रत्यक्ष तथा ५ लाख भन्दा बढीले अप्रत्यक्ष रुपमा रोजगार पाएका छन भने नेपाल भरीका करिब २८ लाख भन्दा बढी मानिसहरु सहकारी संस्थाहरुमा आवद्ध भएका छन । करीब ३ अर्ब रुपैयाँ बराबरको कारोवार गर्न सफल भएको छ । राज्यको आर्थिक विकासमा समेत सहकारी अभियानले आफ्नो छुट्टै पहिचान बनाई सकेको छ । साथै राज्यको तीन खम्बे अर्थनीति अनतर्गत सहकारी संस्था पनि एक बलियो आधार स्तम्भ रुपमा राज्यद्वारा घोषणा भई सकेको छ । देशको अर्थतन्त्रमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै अगाडी बढीरहेको छ । साथै सहकारी संस्थाहरुले राष्ट्रिय अर्थतन्त्रमा आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्दै आई रहेका छन । यस कारण देशको आर्थिक, सामाजिक,साँस्कृतिक र राजनैतिक रुपान्तरणका लागि देशको कुना काप्चासम्म विभिन्न बिषयका सहकारीहरु फस्टाउने क्रम द्रुत गतिमा अघि बढिरहेको छ । गरीबी, अशिक्षा र अन्धविश्वासबाट ग्रसित अधिकांश ग्रामिण समुदायका मानिसहरुमा सहकारी अभियानका माध्यमबाट परिवर्तनका रुप रेखाहरु कोरी दिएको पाईन्छ ।