बढि भावुक कुनै कुनै समय म भई दिन्छु । असंगत र असम्बन्धित सोचाइहरु मगजभरी आउँछ । अझ दिनभरी काम नहुँदा र बात मार्ने साथी नभएर एक्लो भएको बेला कस्तो कस्तो कल्पनामा म बग्छु, म आफैलाई समेत थाहा हुँदैन ।
यस्तै कल्पनामा उड्दै म चिसो हावाको खोजमा बाहिर निस्कन्छु । दोछायामा परेका बाङ्गा टिङ्गा लहराजस्ता छायाहरुले मलाई बिषालु साँपको भ्रममा पार्दछ ।साँपले मलाई डस्छ, मेरो मृत्यु निश्चित छ, म केवल एक घण्टा बाच्छु । म झस्किन्छु, म यो एक घण्टाको जीवनमा के गर्छु ? अहा मलाई यो जीवनको मोह उब्जिन्छ , कति अमुल्यवान यो प्राण छ— अफशोच लाग्छ ।तर कस्तो खराब बिचार यो मगजमा आउने गर्छ , मलाई साँपले डसेकै छैन । म सतर्क हुँदै आफ्नो मनको भ्रम निवारण गर्दै आफैलाई सम्झाउछु तर शङ्का उब्जिन्छ ।
केहि दिन अगाडी माछाको तरकारी खाँदा 'माछाको काडा घाटीमा अडकिएर ठुला ठुला धेरै मानिसहरु मरेका छन्' भन्ने सम्झदै खाईरहेको थिए । मेरो पनि घाटीमा काडा अडकिन्छ, गाडिन्छ कि म निकाल्ने सक्तिनँ 'भन्ने सम्झदै बढि सतर्क भएर माछाको एक टुक्रा छपाई रहेको थिए, बेसुधमा निलेछु एउटा काडा साँच्चै गाडिएको महसुस गरें । घाटीमा होइन जिब्रोको जरामा जसलाई मैले निकै निकाल्ने प्रयत्न गरें , हरेस खाएर डाक्टरकहाँ पुगेपछी मात्रै छुटकारा पाए । कस्तो साक्षात सोचाई, त्यस्तै आजको खराब सोचाई पनि साक्षात भयो भने ....
केवल एक घण्टा !