‘क्स्तो निस्फिक्री मान्छे ! कुनै चिन्ता छैन ! यस्तो पनि मान्छे हुन्छ ?’
ठीक हो, चिन्ता नहुने निस्फिक्री मान्छे हुन्छ र ?मान्छे हुनका निम्ति चिन्ता गर्नु पर्छ । निधारमा चाउरी परोस्, मुट्ठीहरू कसिउन्, उत्तेजित भएर शरीर बाउँडियोस्, चेहरा विकृत होस् — चिन्तैचिन्ताले । तब मान्छे हुन्छ । चिन्ता नहुने, चिन्ता नगर्ने मानिस कदापि मानिस हुन सक्तैन ।
चिन्ता गर्नका लागि विषय नै छैन । चिन्ता गर्नु पनि विषय चाहिन्छ र ? विषय यत्रतत्र छरिएका छन् । चिन्ताको विषय पाउनुभएन भने त्यसैको चिन्ता गर्नोस् । जाबो चिन्ताको विषय पनि नपाउने यो आधुनिक युगमा ? चिन्ताको कुरा भएन ? साथीभाइहरूबारे चिन्ता गर्नोस् । कस्ता फटाहा, क्रोधी, नीच र पाखण्डी साथीहरू रैछन्, सधैं धोका मात्र दिने । मुखले मीठो कुरा गर्ने, कपट मनभरि बोकिरहेका बोक्रे साथीभाइहरू, खानपिनमा बोलाउने होइनन्, मातिन्जेल, छादुन्जेल रक्सी खुवाउने होइनन् । कस्ता निरर्थक साथीहरू ! चिन्ता गर्ने कुरा भएन ?
बिहे भइसकेको भए स्वास्नीबारे चिन्ता गर्नुहोस् । कस्ती रहिछ,, यसो राम्राराम्रा लक्काजवानहरूप्रति आकर्षित भएर लहसिनु पर्ने, लहसिन्न भने पक्का केही यौनजन्य खराबी छ नपुंसकताको लक्षण हो कि ? एकै पुरुषसँग तृप्त हुने आइमाईमा पक्कै केही शारीरिक खराबी छन् । लोग्नेको बारेमा पनि स्वास्नीले त्यसरी नै चिन्ता गर्न सक्छिन् । कस्तो लोग्नेमान्छे भएर पनि अरु आइमाईसँग नलागेको ? चिन्ता गर्न थाल्नुहोस् । यदि विवाह भएको छैन भने बिहे नभएकोमा केटा वा केटीहरूले तपाईँलाई नहेरेकोमा चिन्ता गर्नुहोस् । चिन्ता गर्नु भएन भने आजीवन कुमार वा कुमारी रहनु होला । चिन्ता गर्न थाल्नुहोस् ।