पैसाले पदले अपार मदले सारै घमण्डी बनी
ढाँचा-फुर्ति गरेर हिँड्छ मनुवा यस्तो र उस्तो भनी
सारै सुन्दर मूल्यवान बहुतै मैले बनाएँ घर
भन्दै फुल्दछ जो बडो म हुँ भनी सोच्दै नसोची तर ।
केही काम लिएर हिँड्छ मनुवा छोडेर आफ्नो घर
पानी झम्झम बर्सिदिन्छ पथमा पुग्दा-नपुग्दै पर
बाटोमा घर छैन त्यो यदि भने बस्नेछ ओडारमा
त्यो एकैछिनको बसाइ उसको पर्ने छ दोधारमा ।
के हो मानिसका निमित्त भनिने ओडार वा आलय ?
कस्को बास भएर मानिसहरू बन्छन् नि तेजोमय ?
सोही तत्त्व बुझाउने मन भई केही कुरा गर्दछु
साँचो तर्क छ यो बुझुन् सबजना विश्वासमा पर्दछु ।
लाहाको दरबार होस् कि, अथवा निर्माण होस् बज्रले
दुङ्गाले अनि मृत्तिका र खरले निर्माण होस् काठले
त्यो ओडार समान हो बुझिगए राम्रो बनोस् तापनि
पानी छल्न बसे समान सबले छोडेर जान्छन् अनि ।