यतिखेर म हस्पिटलको इमर्जेन्सी वार्डको बाहिर राखिएको बेडमा अवाक मनस्थितिमा पसारिएको छुँ । मेरा वरिपरी परिचित मुहारहरु झुम्मिएकाछन् । मेरा आँखाले ती मुहारहरु चिन्न सकिराखेको छैन । मात्र म स्वर सुनिरहेको छुँ । होहल्लाहरुको माझ , चिच्याहटको त्यो मुटुनै सेरिनेखालको आवाजसंगै मानसपटलमा झ्ल्याक्क झुलूक्क फ्ल्यास जस्तै केहि निमेष अगाडिको घटनाको दारुण दृश्य चम्किरहेको छ ।
सीमा आफ्नो सल्किरहेको गाउन निभाउने प्रयास गर्दै थिई, जतिबेला म उसको चिच्याहट सुनेर भान्छामा पुगें । आगोले उसको कपाल पनि टिपिसकेको थियो । आफ्नो हातले आफ्नो शरीरमा लागेको आगो निभाउने कोशिश गर्दै थिई । उसको मुखबाट लगातार चिच्याहट निस्की नै रहेको थियो ।
म एकछिनको लागि स्तब्ध जस्तै बने । विवेक शून्य झैं बने । फेरि हत्तपत्त हातैले उसको शरीरको आगो निभाउने प्रयास गर्नथालें । भान्छा साँघुरो थियो । एउटा शटरमा भान्छा पनि , सुत्नेकोठा पनि अनि बिचमा रायक राखेर अगाडीको भागमा किराना पसल । एउटा बाध्यता ,एउटा संघर्ष , एउटा यात्रा अनि महँगो काठमाडौँको बसाइमा पसिनासंग साट्न लालायीत केहि थान सपनाको स्यामस्वेत रेखाचित्र जसमा साकारको इन्द्रेणी रंगले रंगाउने रहर, जुन यो आगलागीमा नराम्ररी घाइते भैसकेको थियो ।
मेरो हातले मात्र आगो निभाउन गाह्रो लाग्न थाल्यो । मैले उसको हुरुरु बल्न थालेको शरीरलाई जुरुक्क काँधमा बोकें र बाहिर कुदें । यतिन्जेलसम्म बाहिर मानिसहरुको भीड जम्मा भैसकेको थियो । सीमा चिच्याउँदै थिई । शरीरको लुगा पूर्णत: जलिसकेको थियो । कसैले बोरा भिजाएर ल्याएर सीमालाई छोपिदियो । त्यतिन्जेल सम्म उ बेहोश प्राय: भैसकेकी थिई । कोहि एम्बुलेन्स बोलाउ भन्दै थियो , कोहि छिटो अस्पताल लैजाउ भन्दै थियो । दुर्घटनाको
समय बाहिर खेल्दै गरेकी छोरी बिनिषा कहालिएर मलाई अंगाल्न आइपुगी ।
'बाबा ! बाबा !! मम्मी ! मम्मी….!'- भन्दै डरले अबोध मुहार कालो निलो पार्दै रुँदै थिई । मैले मेरी छोरीलाई अंगालोमा लिएँ ।
'के भो , के भो ? '- भीडको जिज्ञासा स्वभाविक नै थियो ।