ठण्डीको मौसम । जहाँ गएपनि जसको मुखबाट पनि चिसो मौसमकै बारेमा चर्चा–परिचर्चा सुनिन्छ । कोहीसँग भेटघाट भयो कि कुराकानीको सुरुवातनै ओहो ! सारो जाडो भत्रे वाक्यबाट हुन्छ ।
जाडोको बिदा मनाउने क्रममा हामी रमाइलो गर्न भनी घरबाट बाहिर निस्कियौं । धेरै दिनको अन्तरालमा बल्ल आज धमिलो हुस्सुलाई लोप्पा खुवाउँदै घाम पनि आफ्नो सुनौलो पहेँलो रुपमा प्रकट भएको छ । घामको न्यानोपनले मन फुरुङ्ग थियो । हाम्रा पाइलाहरु बस स्टेशनतिर मोडियो । तराइको चारैतिर खाली जमिन निष्तब्ध भएर फैलिएको छ । केहिबेरको हिँडाइपछि हामी बस स्टेशन पुग्यौं । हाम्रो गन्तब्यतर्फ लाग्नको लागि हामीले आधाघण्टा जस्तो बस पर्खनुपर्ने भयो । त्यहाँ बसको पर्खाइमा रहेका मध्ये कोही उत्सुकताका साथ आ–आफ्ना कुराहरु गरिरहेका थिए भने कोही निःशब्द छायाँझैं उभिएर कुरा सुनिमात्र रहेका थिए ।,
सा–साना नीजि गाडीहरु आ–आफ्नो उद्देश्यका साथ अज्ञात स्थलतिर बेस्सरी हुइकिन्थे । म र मेरी साथी भने नीलो आकाशलाई छानो बनाएर त्यही फैलिएको निश्चल आकाशमुनि निकै बेरसम्म मौन रह्यौं । टाढादेखिको गाडीको आवाज आएर हाम्रो कानमा ठोक्किँदै निकै सुदूर पुगेपछि मात्रै ती आवाजहरु विलीन हुँदै हराउँदै जान्थ्यो । फेरि अर्को गाडीको आवाज त्यसैगरी दोहोरिन्थ्यो ।