लक्ष्मीप्रसाद देवकोटा (जन्म वि० सं० १९६६ (सन् १९०९), मृत्यु बिसं २०१६ (सन् १९५९)) नेपाली साहित्यका महाकवि हुन्। देवकोटा नेपाली साहित्यका बिभिन्न विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए। उनले कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च कोटिको मानिन्छ। उनले मुनामदन, सुलोचना, शाकुन्तल जस्ता अमर कृतिहरू लेखेका थिए। बिशेष गरी मुनामदन कृतिका लागि उनी सबैभन्दा प्रख्यात छन्।
तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मी देवकोटाका छ भाइ छोराहरूमध्ये लक्ष्मीप्रसाद देवकोटा साइँला छोरा थिए । लक्ष्मीप्रसादका सात जना दिदीहरू थिए ।
लक्ष्मीप्रसाद देवकोटाको जन्म १९६६ साल कात्तिक २७ गते शुक्रबार काठमाडौ, डिल्लीबजारमा भएको थियो । उनको न्वारानको नाउँ तिर्थमाधव देवकोटा हो । तर तिहारको लक्ष्मीपूजामा जन्मेका हुँदा उनलाई लक्ष्मीप्रसाद भनियो ।
देवकोटा जन्मेदेखि नै उनका घरमा अनेक कष्टहरूको प्रवेश भइरहृयो । उनको घरको व्यवस्थापकीय ढाँचा पनि अत्यन्तै दयनीय थियो । साथै उनको घरले गरिबीको रेखालाई नाघ्न पनि सकेको थिएन । त्यसैले उनी सानैमा भन्थे, ‘म अङ्ग्रेजी पढ्छु र धेरै पढेपछि टयुसन गरेर पैसा कमाउँछु ।’ तर उनीचाहिं जन्मेदखि नै रोगी थिए ।
देवकोटाले बाल्यकालमा नै अमरकोश घोकेका थिए र स्तोत्रमाला पढेका थिए । उनी सानैदेखि आफ्ना बुबाको कविता साफी गर्थे । आफ्ना बुबाको कविता सार्दासार्दै उनीभित्र पनि साहित्यको रस बस्न थाल्यो । उनलाई उनका बुबाले पण्डित बनाउन खोजेका थिए । तर परिवारै त्यस विचारको विरोधमा लागेपछि देवकोटालाई अङ्ग्रेजी पढाउन दरबार स्कुलमा भर्ना गरिएको थियो ।