बगैंचामा मेरा रङबिरङका छन् कति परी
कलीला क्या राम्रा मुसुमुसु हुने बोल्दछ सरि
सिंगारेका छाँटी मगमग छिटो अत्तर मिही
लगाएका सारी नरम रँगिला रेशमसरि ।
हरीया खोपीमा टहल छ हवाको हरहर
सधैं नाच्ने झुल्ने चलमल हुने नै छ रहर
लगाई हीराको टप झलल हाँसी मुसुमुसु
इशाराले डाकी मसँग सब गर्छन् खुसुखुसु ।
चरा पंखी राम्रा नरम रङ पत्ती फरहर
उडूँ झैं बस्छन् ती वरपर हररर
कलीला यस्ताछन् कि त छुन पनी लाग्दछ डर
फुका छाती बोल्छन् मसँग परबाटै सब तर ।
"कहाँदेखिन् आयौ भनन सुकुमारी वनपरी ?"
भनी सोद्धा भन्छन् मुसुमुसुबनी लज्जितसरि
"जहाँ झुल्छन् रंगी नरम कलिला बादलभरी
जहाँ फुल्छन् ऊँचा धनु रंग मिसेका बहु थरी ।"