सगरमाथा हिमालको काखमा गोरी परीको घर थियो । उनी सधैं हिमालबाट काठमाडौं शहरलाई हेर्थिन् । किनकिन परीलाई काठमाडौं शहर असाध्यै रमाइलो लाग्थ्यो । हरेक समय उनी यही सोचिरहेकी हुन्थिन्– “यदि मेरो काठमाडौं शहरमा एउटा घर भइदिएको भए कति मज्जा हुन्थ्यो ।”
फेवातालको काखमा गोरी परीको मामाको घर थियो । उनका मामा डमरु त्यहाँ निकै खुशी साथ बसेका थिए । दस वर्ष अगाडि गोरी परी त्यहाँ गएकी थिइन् । फेवातालमा डुङ्गामा चढेर घुम्न पाउादा उनको मन खुशीले नाचेको थियो । त्यही बेला आफ्ना मामाले गरेको काठमाडौं शहरको वर्णनको कल्पना अहिलेसम्म पनि गोरी परीको मनमा ताजै छ ।
आज अचानक सगरमाथा हिमालमा ठूलो हिउा पहिरो जान थाल्यो । परीहरू ज्यान बचाउन पृथ्वीका आफन्तहरूका घरतिर लागे । गोरी परी पनि खुशी हुँदै मामाघरतिर लागिन् ।
‘मामा म पनि तपाईसँगै काठमाडौं शहर घुम्न जान्छु है !’ गोरी परीले आफ्ना मामालाई अनुरोध गरिन् । आफ्नी सानी, राम्री हिस्सी परेकी गोरी भान्जीको कुरा मामाले टार्न सकेनन् ।
आहा ! काठमाडौं त कति राम्रो रहेछ । रानीपोखरी, घण्टाघर, हनुमानढोका, राजदरबार, पचपन्न झ्याले दरबार आदिआदि । आफ्नो बसाइका क्रममा गोरी परीले काठमाडौं, ललितपुर र भक्तपुरका प्रसिद्ध ठाउाहरू मज्जाले घुमिन् । उनलाई असाध्यै रमाइलो लागिरहेको थियो ।