अँधेरीमा झलमल ज्योति छर अनि थाहा हुन्छ,
पलपल मर्नेहरूसँगै मर अनि थाहा हुन्छ ।
कतै लामो कतै छोटो भोगाइ हो जिन्दगानी,
एकै छिन यो ओह्रालीमा झर अनि थाहा हुन्छ ।
मुटुविना बाँच्ने जो छ उसैसित मीत लाउँछु,
कोही भए यतातिर तर अनि थाहा हुन्छ ।
मान्छे बन्न नजान्नेको देउता बन्ने धुन छ,
विषको घडा ढोली अमृत भर अनि थाहा हुन्छ ।
तिमीलाई मोज र मस्ती रोइरहेछ गाउँ-बस्ती,
नपत्याए अलि पर सर अनि थाहा हुन्छ ।