दशैंको त्यो रम्झमलाई मनमा लिई हाँस्दैछु म
परदेशमा भए पनि अतितको याद साँच्दैछु म ।
फुले होलान् सयपत्री आँगनमा मुस्काउँदै
यता भने काँडाघारी मनमा पाली बाँच्दैछु म ।
घर आँगन् सिङ्गार्न सबै उता ब्यस्त होलान्
यहाँ भने झल्झल्कोको दाग सम्म माँस्दैछु म ।
गाउँघरमा च्याब्रुङ्, मादल् घन्किएर बज्दैछन् रे
बिदेशमा बिलापको गीत कथी नाँच्दैछु म ।
निधारमा आशिषको टिका सबले टाँस्दै होलान्
प्रवासमा आसुँ झार्दै झुटो आशिष् टाँस्दैछु म ।