हिड्दा हिड्दै गन्तव्य भुलेको मान्छे म,
सफलताको सिढीं चढ्न चुकेको मान्छे म।
निरन्तर शिखर उकल्न जुटेको मान्छे म,
बारम्बार ईष्याले खुट्टा थुतेको मान्छे म।
अरुको दु:ख आफ्नै दु:ख भन्ठान्थे सधैं,
असत्यको सम्मुख सत्यले झुकेको मान्छे म।
परायलाई चेतावनीको औंला के ठहर्याउनु,
आफ्नै आफन्तले निर्दयी लुटेको मान्छे म।
मन मुटुमा राखें जसलाई आफ्नो ठानी,
उनैबाट घ्रिनाले प्याच्च थुकेको मान्छे म।
सानो तिनो चोटको के असर यो तनलाई,
समयको असिना पानीले चुटेको मान्छे म।
जान अन्जान सबलाई ज्ञान भए हुन्छ,
असह्य पीडाले आँफैभित्र दुखेको मान्छे म।
संवेदनाको हाँढिमा पट्ट्ट् भुटेको मान्छे म।
हार र जीतको ठुलो अर्थ रहन्छ,
पलपल असत्यको विरुद्ध जुधेको मान्छे म।
घ्रिनित कुद्रिष्टी लाउछौ व्यर्थै किन,
हारेर पनि जीतेर उठेको मान्छे म।